नवज्योती ट्रेडर्सका सञ्चालकसहित चारजनाविरुद्ध ३ करोड ४७ लाख बढी राजस्व ठगी मुद्दा
वि.सं.२०८२ असार ११ बुधवार
shares
काठमाडौँ ।राजस्व अनुसन्धान विभागले नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादवसहित चार जनाविरुद्ध ३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको राजस्व ठगी मुद्दा दायर गरेको छ।
विभागले बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमार्फत अनुसन्धान गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो।
बुटवल उपत्यकास्थित रामग्राम नगरपालिका–८ मा रहेको नवज्योती ट्रेडर्सका प्रोप्राइटर यादवले मूल्य अभिवृद्धि कर (मु.अ.कर) मा दर्ता नगरी ५० लाख रुपैयाँभन्दा बढीको करयोग्य सामान बिक्री गरेको पाइएपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा यादवले पटकपटक चामलको नक्कली बिल बनाई भारतबाट भन्सार छली गरी चिनी आयात गरेको पुष्टि भएको छ। विभागका अनुसार उनले मु.अ.कर र भन्सार तर्फ ३ करोड ४७ लाख ६२ हजार ७५३ रुपैयाँ २३ पैसाको बिगो पुर्याएका छन्।
उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ र ४ अन्तर्गतको कसूरमा पर्ने भएकोले यादवमाथि सोही ऐनको दफा २३(१) अनुसार बिगो असुल गरी १०० प्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरिएको छ।
त्यस्तै, यादवसँग कारोवार गरेका आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मामाथि ११ लाख ७१ हजार ५ सय रुपैयाँको बिगो कायम गरी सोही ऐनको दफा २३(१)(क) अनुसार कारबाही माग गरिएको छ।
यिनीसँगै हिक्मत प्रसाद आचार्यले शर्मालाई प्रत्यक्ष सघाएको प्रमाण भेटिएपछि उनको हकमा आधा सजाय माग गरिएको छ भने अर्को प्रतिवादी विनोद थापामाथि समेत संलग्नता पुष्टि भई जरिवाना मागदाबी गरिएको छ।
विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राजस्व चोरीका घटनामा संलग्नमाथि कानून अनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।































