भानुभक्तीय दृष्टिमा नेपालको सेवा प्रवाह
वि.सं.२०८२ असार २९ आइतवार
shares
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो ।
उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीतालगायत तथा धेरै फुटकर कविता प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूला प्रेरणा रहेको मानिन्छ ।
नेपालका आदिकवि भानुभक्त आचार्य केवल धार्मिक काव्यका स्रष्टा मात्र होइनन्, उनी सामाजिक चेतनाका कवि पनि हुन्। उनले जनजीवनका दुःख, आश्वासनका जाल, र राज्य–प्रशासनका कमजोरीहरूलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गरेका छन्। त्यसको एक उत्कृष्ट उदाहरण हो “बक्सियोस् आज झोली” नामक कविता, जसमा उनले प्रशासनिक ढिलासुस्तीलाई गहिरो व्यङ्ग्य गरेका छन्।
“बोल्छन् ता ख्याल् गर्या झैं, अनि पछि दिनदिन् भन्दछन् भोलि भोली” भन्ने कविताका पंक्तिहरूमा आजका दिनमा समेत सरकारी कार्यालयहरूमा देखिने प्रवृत्ति प्रतिबिम्बित हुन्छ। नागरिकको गुनासो, अनुरोध वा आवश्यकता प्रति तत्काल निर्णय र कार्यान्वयन गर्नुको साटो, “भोली आउनुस्”, “हेर्छौं”, “माथि पठाइसकेका छौं” , “आज हाकिम साब हुनुहुन्न” , “फलानो शाखाको कर्मचारी आएको छैन” भन्ने अलमल पार्ने व्यवहार आज पनि विद्यमान छ। भोलिको नाममा काम टार्ने यो संस्कृति जनसेवासंग अमिल्दो छ ।
त्यसैले, आजको नेपालमा प्रशासन दक्ष, पारदर्शी, उत्तरदायी र जवाफदेही बन्नु अत्यावश्यक छ। जनताले समयमै सेवा पाउने, सहज रूपमा उजुरी गर्न सक्ने, र स्पष्ट जवाफ सुन्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। ‘आज होइन भने भोली’ भन्ने चलनको अन्त्य गरी ‘अहिले वा यतिबेला’ भन्ने नतिजामुखी सोच विकसित हुनुपर्छ। प्रशासनिक संयन्त्रले सेवा प्रवाहलाई गतिको साथसाथै गुणस्तरमा पनि सुधार ल्याउनुपर्नेछ।
त्यसका लागि सूचना प्रविधिको प्रयोग, कर्मचारीको व्यवहारगत परिवर्तन, तालिममार्फत सेवा संस्कारको विकास, र कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई सुदृढ बनाउनु अनिवार्य छ। प्रशासन जनताको विश्वास जित्न सक्ने हुनु जरुरी छ, र त्यो विश्वास छिटो, सजिलो, पारदर्शी र न्यायसम्मत सेवा दिनुबाट मात्र सम्भव हुन्छ।
भानुभक्त आचार्यका सवै कविताहरु सशक्त र मनछुने खालका तथा सन्देशमूलक छन् । आज भन्दा दुई सय वर्ष अगाडी रचिएका ती रचनाहरु अहिले पनि उत्तिकै सान्दर्भिक र सामयिक रहेका छन् । सार्वजनिक सेवा प्रवाहमा भोलिवाद अहिलेको विभिन्न समस्या मध्ये एक प्रमुख समस्या हो । भानुभक्तले त्यो पीडा त्यतिवेला यसरी व्यक्त गरेका थिए भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली । यिनै आदिकविका यी आदर्श र सन्देशमूलक वाक्यलाई हामी अझै किन आत्मसात गर्न सकिरहेका छैनौ । सेवा प्रवाहमा सरकारको भूमिका कस्तो हुनु पर्दछ भन्ने वारेमा यस आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सरकार र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । सार्वजनिक सेवा सार्वजनिक व्यवस्थापनको अति नै महत्वपूर्ण आयाम पनि हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसर्थ सार्वजनिक सेवा प्रवाह राज्य र जनता विच भेट हुने संगम स्थल हो । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृध्दि गर्ने रहेको हुन्छ ।
सेवा प्रवाहको संयन्त्र जहिले पनि सेवाग्राही मैत्रीय हुनु आवश्यक हुन्छ । यो अवस्थाको प्रत्याभूतिका लागि भौतिक रुपमा जनताको नजीकमा संस्थागत पहुंच हुनु आवश्यक हुन्छ ।भौतिक पहुंचमा पनि विविध अवरोधहरु रहन सक्दछन् अर्थात भौतिक पहुंचलाई एकातर्फ सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग गरेर फाराम पेश गर्ने, सेवाको माग गर्ने, रकम बुझाउने जस्ता कार्यहरु सेवाग्राहीले सेवा प्रवाहको स्थलमा धाउनु पर्ने प्रक्रियाको अन्त्य गर्न सकिन्छ । यसको साथै सेवाग्राहीकै भौतिक उपस्थिति हुनु पर्ने अवस्थामा सूचना प्रविधिको प्रयोगले कागजातको संकलन, अन्तरशाखा कागजातको प्रमाणीकरण, विभिन्न पदाधिकारीहरुवाट स्वीकृति प्रदान जस्ता धेरै समय लाग्ने गरेका प्रक्रियात्मक पक्षहरुलाई एकल सेवा विन्दूवाट छोटो समयमा सेवा उपलब्ध गराउन सकिन्छ । सेवा प्रवाहको अर्को महत्वपूर्ण आयाम भनेको सेवाको उपलब्धतामा प्रक्रियागत, समयगत, समय र मूल्यका लागत वारे सेवाग्राही अनभिज्ञ रहनु वा पारदर्शिताको प्रत्याभूति हुनै पर्दछ । यसको लागि व्यवहारिक, कार्यान्वयनयोग्य र विश्वसनीय पारदर्शी संयन्त्रको रुपमा नागरिक बडापत्र वा सेवाग्राही बडापत्र को प्रयोग गर्न सकिन्छ । सूचनाप्रविधियुक्त र नागरिक बडापत्रको व्यवस्थाले सार्वजनिक सेवा प्रवाहमा सहजता , पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता गरेको हुन्छ ।
प्रशासनयन्त्र सरकारी सेवालाई सरल सहज झन्झटमुक्त र प्रभावकारी बनाउने सहज संयन्त्र भएकोले जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता , प्रतिबध्दता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्दछ । विना भेदभाव सार्वजनिक सेवामा पहुंच र विना भेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार तटस्थ प्रशासनिक संयन्त्रवाट मात्र संभव छ भने सार्वजनिक सेवाको गुणस्तरता , सेवाग्राही मैत्रीय सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता ,प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकारको प्रत्याभूति प्रतिबध्द प्रशासनिक संयन्त्रवाट संभव हुन्छ । सार्वजनिक प्रशासकले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्नु पर्ने हुन्छ । यस सन्र्दमा प्रशासनको दायित्व तटस्थता सहितको प्रतिबध्द दक्षता को अवधारणाको प्रत्याभूति गर्नु हो । प्रशासकहरु योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणवाट सुरक्षित राखि सेवा प्रवाहमा जन प्रशंसा प्राप्त गर्न सक्ने पोख्त योध्दा बन्न सक्नु पर्दछ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीति प्रति तटस्थता देखाउदै सेवा प्रवाह र सरकारी नीति कार्यान्वयनमा मा सकारात्मक योगदान को निम्ति सदा सर्वदा तत्पर र प्रतिबध्द रहनु नै वास्तविक रुपमा तटस्थता सहितको प्रतिबध्द दक्षता हो ।
प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो । स्थायी सरकारको रुपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकार समक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष पुर्याउनु पर्ने सेवा सुविधालाई सरल र सहज तरीकाले पु¥याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरुमा सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध हुनु आवश्यक छ । सरकारी नीति र कार्यक्रम प्रतिको अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बननै प्रतिबध्दता हो ।
प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो। प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ( प्रो एक्टिभनेस) ले राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।
निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरु हुन् । यी विशेषताहरुको प्रभावकारी उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले समग्र शासकीय संयन्त्र माथि नै असन्तुष्टि उत्पन्न हुन जान्छ । राज्य संयन्त्र प्रति जनताको अपनत्वबोध कायम गर्न सरकारी कर्मचारीहरुको सकारात्मक भूमिका रहन्छ यो भूमिकाको प्रभावकारिताले आम जनमानसमा सरकार प्रति विश्वसनीययता वृध्दि भै जन अपनत्वयुक्त दिगो सरकार वन्न सक्दछ ।
विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति सार्वजनिक मामिलाको व्यवस्थापनमा अनिवार्य शर्त हो । यी भिन्न परिवेशमा आपूmलाई अनुकुलित गराउदै जान र संघीय शासन प्रणालीलाइ सुदृढ, मजवूत, जनमैत्रीय वनाउनका लागि सिर्जनशील, व्यवसायिक र सदाचारयुक्त सार्वजनिक प्रशासन सामयिक आवश्यकता हो ।
प्रशासन सुधारका धेरै प्रयासहरु भए नवीनतम अवधारणाहरु धेरै भित्रिए सेवा प्रवाहमा धेरै प्रविधिहरुपनि आवध्द गरिए तर सेवा प्रवाह अझै जनमैत्रीय बन्न नसकेको तीतो यथार्थ हामी संग अझै रहेको छ । भानुभक्त आचार्यका निम्न पंक्तिहरुले आजको यथार्थलाई समेत झल्काएको छ।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
कि ता सक्तिन भन्नु कि तब छिनिदिनू क्यान भन्छन् यी भोलि।
भोली भोली भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
आज भन्दा दुई सय वर्ष अगाडीको सेवा प्रवाहका कमजोरीहरु कतै आज पनि विद्यमान रहेको मात्र होइन कि कतै यी विकृतिहरु झांगिदै गैरहेका त छैनन् यसको समीक्षा र तदनुरुपको सुधारको लागि हामी कहिले तत्पर रहन्छौं यो अहिलेको यक्ष प्रश्न हो । भानुभक्तले “भोली भोली भन्दैमा सब घर बितिगो” भन्ने सोचाइवाट मुक्त हुनु आवश्यक छ ।
– डा= दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्_





























