दशैं समृध्द सामाजिक सांस्कृतिक उन्नयनको आधार
वि.सं.२०८२ असोज १५ बुधवार
shares
समाज विविधताको सम्मिश्रण हो, र यही विविधता नै यसको वास्तविक विशेषता हो। समाजमा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा, भेषभूषा, आस्था र जीवनशैलीहरू हुन्छन् । यी सबै मिलेर समाजलाई रंगीन र समृद्ध बनाउँछन्। विविधताले समाजलाई नयाँ सोच, विचार र अनुभवहरू प्रदान गर्छ, जसले आपसी सहकार्य र समन्वयलाई अझ बलियो बनाउँछ। यद्यपि मानिसहरू भिन्न पृष्ठभूमिबाट आएका हुन्छन्, उनीहरूबीचको सहअस्तित्वले समाजलाई समावेशी र सहिष्णु बनाउँछ। विविधतामा देखिने एकता नै समाजको सुन्दरता हो, जसले सहअस्तित्व, आपसी सम्मान र साझा पहिचानलाई मजबुत पार्छ। त्यसैले, समाजको विविधता आफैंमा विशेषतायुक्त हुन्छ र यही विविधता समाजको निरन्तरता, समृद्धि र सशक्तताको आधार हो। समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । राष्ट् धेरै विशेषतायुक्त समाजहरुको सम्मिश्रण हो । समाज र राष्ट्का यी विशेषताहरु प्रत्येक राष्ट्को मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ ।राष्ट्यि पहिचान र गर्व संगसंगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वभाविक प्रक्रिया हो । बहुजातिय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातिय परम्पराहरू अलग–अलग हुन सक्छन् उनीहरुको रीतिरिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा, मा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो ।यसैले विविधता व्यवस्थापन प्रजातान्त्रिक शासन प्रणालीको प्राथमिक कार्यसूची वन्ने गर्दछ ।
नेपाल आफैमा विविधतायुक्त देश हो । नेपालमा सय भन्दा वढी जातजाति र भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृति रहेका छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता पनि विद्यमान रहेको छ । यो विविधतामा अनेकौं सौन्दर्यता पनि लुकेकोछ । विधितामा एकता नेपाली समाजको विशेषता हो। विविधताको सौन्दर्यतालाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ । सकारात्मक परिणाम दिन सक्ने गरि गरिएको व्यवस्थापन अहिलेको सामयिक आवश्यकता हो । विविधता नेपाल राज्यको मौलिक पहिचान हो यसैले विविधताको व्यवस्थापन नेपालको सन्दर्भमा समेत सामयिक बन्ने गरेको छ ।
नेपालको वर्तमान संविधानले देशको विविधतायुक्त संरचना लाई राम्रो सग आत्मसात गरेको छ । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको प्रबध्र्दन गर्ने अपेक्षा लिएको छ । संविधानले देशमा लामो समय देखि वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक क्षेत्र मा विद्यमान रहेका विभेदको अन्त गर्ने लक्ष्य लिएको छ । यसको अतिरिक्त जात जात र अन्तरजातको वीचमा रहेको सवै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु वर्तमान संविधानको अर्को महत्वपूर्ण लक्ष्य हो । माथि उल्लेखित यी असमानताको अन्यवाट मात्र आर्थिक समानता, समृद्धिको सुनिश्चितता , सामाजिक न्यायको प्रबध्र्दन गर्न सकिने हुन्छ । हाम्रो संविधानले राष्ट्रको परिभाषाभित्र जाति, धर्म, भाषा, संस्कृति, भूगोल तथा सार्वभौमिकता आदि पक्षलाई समावेश गरेको छ यी पक्षहरुमा जनताको सहिष्णुता आवश्यकीय पक्ष हो । नेपालको संविधानले विविधता व्यवस्थापनलाई विविध आयामहरुवाट सम्बोधन गर्ने प्रयास गरेको छ। संविधानले आर्थिक सामाजिक दृष्टिले पछाडि परेका, राज्यको सुबिधाबाट बञ्चित र सीमान्तकृत समुदायलाई मुलुकको सर्बांगीण विकासमा सहभागी गराउँदै समावेशी लोकतन्त्रको अवधारणालाई संस्थागत गर्ने लक्ष्य लिएकोे छ। मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वले सामाजिक न्याय, सामाजिक समावेशीकरण र समावेशीतालाइ प्राथमिक विषय बनाएको छ ।
हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका व्यक्तिहरुहरू भए पनि हाम्रो पहिचान नेपाली हो । हाम्रा प्रत्येक बस्तीहरु विविध जाति, धर्म संस्कृति, भाषीको अन्तरघुलनले सौन्दर्यमय बनेको छ । सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता पाउन सक्दैन । हाम्रो राजनीतिक, सांस्कृतिक, धार्मिक आस्था, परम्पराहरु भिन्न होलान् तर हामी छिमेकी, नाता, कुटुम्ब, विवाह, पूजा, पर्व, पँधेराको सम्बन्धले एक आपसमा कसिलो ढंगले बाँधिएका छौं । संस्कृतिले जेलिएको हाम्रो सामाजिक प्रक्रिया र अन्तरसम्बन्धलाई वाद, सम्प्रदाय वा धार्मिक भिन्नताले पनि टुटाउन सकेको छैन बरु अझ बढी मजवूत बनाउदै गएको छ ।
नेपाली चाडहरूको सामाजिक र सांस्कृतिक महत्व अत्यन्त गहिरो र बहुआयामिक छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाज भएकाले यहाँका चाडपर्वहरूले विविधता बीचको एकता झल्काउँछन्। दशैं, तिहार, छठ, उभौली-उधौली, माघे संक्रान्ति, ल्होछार, ईद, क्रिसमस जस्ता पर्वहरूले विभिन्न समुदायका आस्था, परम्परा र जीवनशैलीलाई जोड्ने कडीको काम गरेका छन्। यस्ता चाडहरूले सामाजिक सम्बन्ध सुदृढ पार्छन्, आपसी मेलमिलाप बढाउँछन् र सामूहिक खुशी बाँड्ने अवसर सिर्जना गर्छन्। सांस्कृतिक दृष्टिले चाडपर्वहरूले लोककला, संगीत, नृत्य, भेषभूषा र परम्परागत परिकारलाई जगेर्ना गर्ने माध्यम बनेका छन्। साथै, यी चाडहरूले परिवार र समुदायलाई नजिक ल्याउने मात्र होइन, पुस्तान्तरणमार्फत सांस्कृतिक पहिचान र परम्परागत ज्ञानलाई निरन्तरता दिने कार्य पनि गर्छन्। यसरी, नेपाली चाडपर्वहरूले सामाजिक एकता, सांस्कृतिक समृद्धि र राष्ट्रिय पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्।
हामी दशैको सेरोफेरोमा छौं । दशैँलाई नेपालीहरुकै सबैभन्दा महान चाडका रुपमा मनाउने गरिन्छ । दशैं लगायत अन्य धेरै चाडपर्वहरु उति नै महत्वपूर्ण रहेका छन् ।यी सवै चाडपर्वहरुमा आ आफ्ना सांस्कृतिक मान्यताहरु रहेका छन् र ती सवै सामाजिक सद्भाव र सहिष्णुताका क्षेत्र बनेका छन् ।
किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ । दशैँ मनाउने विषयमा मूलत दुइ विश्वासहरु रहेका छन् एक नवदुर्गा भवानीको विजय संग सम्बन्धित र अर्को मर्यादा पुरुषोत्तम रामले रावणमाथि हाँसिल विजय संग सम्बन्धित छ ।
यसै गरि भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिमाथि सत्यको सदा जीत हुन्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रुपमा मनाइएको हो । तथापि यो दशैंको सम्झना विशेष रुपमा चैते दशैंको वेलामा गर्ने गरिन्छ भन्ने विश्वास पनि रहदै आएको छ ।
चैते दशैंका दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
दशैँमा विभिन्न दिनहरुमा नवदुर्गा भवानीको विभिन्न रुपको पूजा गर्ने गरिन्छ । जसमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको गरी घटस्थानाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ । नवदुर्गा भवानीले राक्षसहरुको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय परम्परा रहदै आएको छ । सप्तमी अर्थात फूलपातीका दिनका दिन बेलपत्र, धानको बाला, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भित्राउने गरिन्छ । यसैगरी नवरात्रको आठौं दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ ।
दशैं मनाउने शैलीमा केही फरकपना पनि रहेकाछन् । कतै दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकालगाउने चलन छ भने कतै दशमीको दिन मात्र टिका लगाउने चलन छ ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएका आशिर्वादहरु हुन् ।
दशैंको पारम्परिक तर धार्मिक सांस्कृतिक महत्वको साथसाथै स्व सुधार गर्ने र आफू भत्र रहेका काम क्रोध लोभ मोह अहंकार जस्ता विकृतसंग माथि विजय प्राप्त गर्ने तथा हाम्रा ५ कर्मेन्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्गतिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने दृष्टिले दशैं लाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गरिन्छ । यसका अतिरिक्त आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरुको आशीर्वाद ग्रहण गरेर सुकर्ममा लाग्ने एकप्रकारको अभिलाषा सवैमा रहेको हुन्छ ।
देश भित्रै पनि र विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर दशैंले जुटाइदिने गरेको छ । विविधताका वीच सामाजिक, धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्ने पर्वको रुपमा समेत यस चाडको विशिष्ट पहिचान रहेको छ । यसैले सबै नेपालीमाझ दशैंको गहिरो प्रभाव रहदै आएको छ ।
दशैं नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो जसको सांस्कृतिक महत्व अत्यन्त गहिरो छ। विजयादशमीको नामले चिनिने यो पर्वले सत्यको असत्यमाथि विजय, सदाचारको दुराचारमाथि विजय र धार्मिक आस्थाको प्रतीकलाई उजागर गर्छ। दशैंमा देवी दुर्गाको पूजा गरी शक्तिको आराधना गरिन्छ, जसले धर्म र न्यायको रक्षा गर्ने सन्देश दिन्छ। सांस्कृतिक दृष्टिले दशैंले परिवार र समाजलाई एकजुट गराउँछ, किनभने यस अवसरमा घरपरिवार, आफन्त र साथीभाइबीच भेटघाट, आशिर्वाद र प्रेम आदान–प्रदान हुन्छ। दशैंमा टीका, जमरा, पूजा–पाठ, रातो टीका र सेतो जमरा लगाउने परम्पराले नेपाली संस्कृतिको विशेषता देखाउँछ। यसैगरी, नयाँ कपडा लगाउने, विशेष परिकार खाने, चङ्गा उडाउने र मेलापात गर्ने परम्पराले लोकसंस्कृति र मौलिक जीवनशैलीलाई जोगाइराखेको छ। यसरी दशैंले धार्मिक आस्था मात्र होइन, सामाजिक एकता, सांस्कृतिक संरक्षण र परम्परागत मूल्यलाई निरन्तरता दिने महत्वपूर्ण भूमिका खेलेको छ।
नागरिकहरु वीच का प्रेम, सद्भाव,स्नेह, साझा स्वार्थ राष्ट्रिय एकताको प्रतिविम्ब हो । जन जनमा यस किसिमको भावनाको विकास हुनुपर्छ । विभिन्न वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ । यस्तो भावनाको विकास गर्ने माध्यम लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक न्याय हो । यसले नागरिकमा उच्च राष्ट्यि मनोवलका साथ एउटै सूत्रमा आबद्ध हुन र सहकार्यमा जुट्न मद्दत गर्दछ । दशैको यस पावन अवसरले हाम्रो समृध्द सांस्कृतिक पहिचानलाई अझ समृध्द बनाउन सहयोग गर्नेछ । विविधता वीच एकता कायम गर्न दशै र यस्ता अन्य चाडपर्वहरु समृध्द सामाजिक सांस्कृतिक उन्नयनका आधार बन्ने छन् । सवैमा शुभकामना ।
(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्)





























