युवाको बलिदानमा सुशासन, समृद्धि र स्थिर राजनीतिक वातावरणको मार्ग
वि.सं.२०८२ असोज २५ शनिवार
shares
नेपालको इतिहासमा हरेक राजनीतिक परिवर्तन र सामाजिक आन्दोलनको अग्रपंक्तिमा युवाहरू रहँदै आएका छन्। राणा शासनको अन्त्यदेखि, प्रजातन्त्र, पञ्चायती व्यवस्था, २०४६ को जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन, गणतन्त्रको स्थापनादेखि हालको जेनजी आन्दोलन सम्म युवाहरूले हरेक पटक देशलाई नयाँ दिशातर्फ अग्रसर गराएका छन्। अहिलेको जेनजी आन्दोलन केवल एक राजनीतिक प्रतिक्रियाको स्वरूप होइन; यो नयां पुस्ताको दीर्घकालीन असन्तुष्टि, भ्रष्टाचारप्रति घृणा, सुशासन र अवसरको खोजी र स्थायित्वप्रतिको तीव्र चाहनाको प्रतिविम्ब हो।
नेपालका युवा पुस्ताले निरन्तर अस्थिरता, राजनीतिक अस्वच्छता र अवसरको एकाधिकारबाट पीडित हुँदै आएको अनुभव गरेका छन्। जेनजी आन्दोलनका युवाहरूले देखेको नेपाल, सम्भावनाले भरिएको भए पनि सम्भावना साकार गर्न राजनीतिक इच्छाशक्ति, पारदर्शिता र संस्थागत प्रतिबद्धताको अभावले विकास रोकेको छ। यो आन्दोलनले विगतका आन्दोलनहरूभन्दा फरक स्वरूप प्रस्तुत गरेको छ । यो विचार, प्रविधि र विश्व दृष्टिकोणले सम्पन्न पुस्ताको चेतनाको आवाज हो। उनीहरू परिवर्तनका लागि बलिदान दिन तयार भए केवल शासन परिवर्तनका लागि मात्र होइन, शासनको शैली परिवर्तनका लागि।
युवाहरूले बुझिसकेका छन् कि केवल सत्तामा पात्रहरुको फेरबदलले मात्र देशको मुहार फेरिदैन, व्यवस्था पटक पटक फेरियो अवस्था फेरिएन, पात्रहरुको म्युजिकल चेयर जस्तै फेरबदल भयो तर प्रवृत्ति फेरिएन। यो नै मूल चिन्तको विषय हो। युवाहरू सुशासनमा विश्वास गर्छन् जसमा जवाफदेहिता, पारदर्शिता र नागरिक सहभागिता निहित हुनु अपरिहार्य छ। सुशासनको खोजीमा युवाहरूले स्वतन्त्र आवाज, सामाजिक सञ्जाल र नागरिक दवाबका माध्यमबाट भ्रष्टाचार, अनियमितता र नीति निर्माणमा देखिएको निष्क्रियता विरुद्ध लडाइँ लडेका छन्। उनीहरूका आन्दोलनका जरा केवल भावनामा होइन, यथार्थका विश्लेषणमा छन्। जब नीति र कार्यबीच दूरी बढ्छ, जब जनताको भरोसा राजनीतिक दलहरूमा हराउँदै जान्छ, तब युवा स्वतन्त्र प्रतिरोधको बाटो रोज्न बाध्य हुन्छन्।
जेनजी आन्दोलनले यही कुरा देखाएको छ । जुन देशका युवाहरूले रोजगारीको अवसर नपाउँदा, सीप र क्षमताको मूल्यांकन नहुँदा, र आफ्नो देशमा आशा हराउँदै गर्दा पनि बलिदानका लागि सडकमा उत्रिन सक्छन्, सम्झनु पर्दछ त्यो राष्ट्र अझै जीवित छ। उनीहरूको बलिदान सत्ता कब्जा वा कुनै पात्रको प्रतिस्थापनका लागि होइन, सुशासन र समृद्धिको स्थायी जग बसाल्ने लक्ष्यका लागि हो, प्रवृत्ति र संस्कार सुधारका लागि हो। युवाहरूको यही दृष्टिकोणले विकासलाई निहीत राजनीतिक प्रतिस्पर्धा र स्वार्थ पूर्तिको मुद्दामा होइन, राष्ट्रिय प्रतिबद्धताको एजेन्डा बनाउने माग गर्छ।
समृद्धिको मूल ध्येय स्थिरता हो। राजनीतिक अस्थिरताले समृद्धि र सुशासनका हरेक सम्भावनालाई कमजोर बनाइदिन्छ । युवाहरूले यो सत्यलाई गहिरो रूपमा बुझेका छन् । त्यसैले उनीहरूको बलिदान स्थायित्वका खोजसँग समेत गाँसिएको छ। स्थायित्व भनेको परिवर्तन रोक्नु होइन, संस्थागत रूपले समयानुकुल र सामयिक बन्दै स्थिर र उत्तरदायी शासन प्रणाली निर्माण गर्नु हो। यस्तो प्रणालीमा नेतृत्व बदलिन सक्छ, तर सकारात्मक मूल्य र कार्यसंस्कृति स्थायी रहन्छ। युवाहरूले यही चाहना गरेका छन् जहां संस्थागत स्थिरता, जहाँ नीति दीर्घकालीन होस् र निर्णयहरू राष्ट्रहितका आधारमा निरन्तरता पाऊन्।
नेपालको वर्तमान अवस्था हेर्दा, युवाहरूले उठाएको मुद्दा केवल भावनात्मक होइन, व्यावहारिक पनि हो। उनीहरू सुशासनका लागि सशक्त सरकार, पारदर्शी वित्तीय र प्रशासनिक प्रणाली, परिणाममुखी प्रशासन र कानूनको शासनको व्यवहारिक अवलम्बन चाहन्छन्। उनीहरूको दृष्टिकोणमा समृद्धि केवल आर्थिक वृद्धिदर मात्र होइन, अवसर, न्याय र आत्मसम्मानमा आधारित जीवनस्तरको सुधार हो। उनीहरू देशभित्रै रोजगारीको सृजना, उत्पादनमुखी अर्थतन्त्र, र दक्ष जनशक्ति प्रवर्द्धन चाहन्छन् ।
राजनीतिक वर्गले युवाको आवाजलाई अस्थायी असन्तुष्टिका रूपमा व्याख्या गर्ने प्रवृत्ति अझै विद्यमान छ। तर इतिहासले देखाएको छ कि जब युवाहरूको बलिदानबाट आएको चेतना संस्थागत रूपले विस्तार हुन्छ, तब राष्ट्र पुनःजागृत हुन्छ। जेनजी आन्दोलनको बलिदानले पनि यही सन्देश दिन्छ अब समय आएको छ कि शासन प्रणालीले युवाको दृष्टिकोण समेटोस्, उनीहरूको आवाजलाई नीति निर्माणमा स्थान देओस।नेपालको सुशासन र समृद्धिको यात्रामा युवाको भूमिका केवल सहभागी होइन, नेतृत्वकर्ताको समेत हुनुपर्छ। उनीहरूका बलिदानले माग गरेको स्थायित्व केवल सरकारमा होइन, सोचमा हुनुपर्छ जहाँ दीर्घकालीन दृष्टि, उत्तरदायित्व र नैतिकता राज्य सञ्चालनका आधार बनून्। जब शासन प्रणालीले युवाको विश्वास जित्छ, तब मात्र राष्ट्रको स्थायित्व सुनिश्चित हुन्छ।
युवाको बलिदानले खोजेको स्थायित्व कुनै राजनीतिक दलको विजय वा हार होइन, जनताको विश्वासको पुनर्स्थापना हो यो वलिदानले देशले सधै जित्न सक्नु पर्दछ। सुशासन, समृद्धि र स्थिर राजनीतिक वातावरणको खोजमा युवाको यो यात्रा नेपालका लागि एउटा असल शुरुवात बन्न सक्नु पर्दछ जहाँ परिवर्तन भावनाबाट होइन, मूल्य र दृष्टिबाट निर्देशित हुन्छ। युवाको बलिदानले खोजेको स्थायित्वको सार नै यही हो जसले नेपाललाई स्थिर, समृद्ध र सुशासित बनाउने आधार तयार पार्नेछ।
आन्दोलनका मागहरूलाई दीर्घकालीन र संस्थागत रूपमा समाधान गर्न सरकारको पहिलो जिम्मेवारी ती मागहरूलाई कानूनसम्मत कार्यसूचीका रूपमा रूपान्तरण गर्नु हो। आन्दोलनले उठाएका मुद्दाहरूलाई केवल भावनात्मक रूपमा होइन, कानुनी र नीतिगत ढाँचामा ल्याएर कार्यान्वयन गर्न सके मात्रै स्थायी समाधान सम्भव हुन्छ। त्यसका लागि सरकार, आन्दोलनकर्ताहरु र दलहरुवीच सहमति र संवादको संस्कृति अपरिहार्य हुन्छ। संवादमार्फत परस्पर विश्वास कायम भई मागहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सकिन्छ। यसरी कानूनसम्मत प्रक्रिया र सहमतिको संयोजनले आन्दोलनका मागहरू क्रमशः पूरा हुँदै जान्छन् र सामाजिक सहकार्य तथा राजनीतिक स्थायित्वको वातावरण सुनिश्चित हुन्छ। यस्तो अभ्यासले लोकतान्त्रिक शासन प्रणालीमा उत्तरदायित्व, पारदर्शिता र जनविश्वासलाई बलियो बनाउँछ, जसले राष्ट्रको सुशासन र समृद्धिको आधार तयार पार्छ। आन्दोलनको चरणमा पक्ष र विपक्ष हुनु स्वभाविकै हो तर बदलिएको धार संगै समाहित हुन चाहने असल पक्षलाई परिवर्तनले समाहित हुने अवसर पनि दिनु पर्दछ।
जेनजी आन्दोलनले राजनीतिक दलहरूको अस्तित्व अस्वीकार गर्ने होइन, दलभित्र रहेको पुरानो सोच, परम्परागत कार्यशैली र जड मानसिकताको विरोध गरेको हो। यो आन्दोलन दलविरुध्दको थिएन, बरु दल सुधारमुखी आन्दोलन थियो। यसले दलहरूलाई परिवर्तनको बाटोमा अग्रसर हुनु पर्ने गतिलो सन्देश दिएको छ।यो सन्देशलाई अवलम्बन गर्ने पक्ष निषेधमा पर्नु हुदैन । तर आन्दोलनको चरण र आन्दोलन पश्चातको चरणमा समेत नकारात्मक भूमिका निर्वाह गर्नेहरुलाई भने कानुनी दायरामा ल्याउनु जरुरी हुन्छ । जेनजी आन्दोलनको आवरणमा परिस्थिति लाई अन्यौल र धमिलो बनाउने र त्यसवाट आफ्नो स्वार्थपूर्ति गर्न चाहने पक्ष अदृश्य रुपमा क्रियाशील रहिरहेको हुन्छ यस विरुध्द सवैको सजगताको आवश्यकता पर्दछ । जेनजी आन्दोलनका युवाहरूले पुराना पुस्ताका नेताहरूको उमेरको विरोधमा होइन तर सत्ता र दलको नेतृत्वमा दीर्घकालसम्म टाँसिन चाहने प्रवृत्ति र सत्तामोहको विरोध गरेका हुन्। उनीहरूले नयाँ पुस्ताको सोच, पारदर्शिता, जवाफदेहित्ता र नवप्रवर्तनका मान्यताहरूलाई आत्मसात गर्न दलहरूलाई आग्रह गरेका छन्। त्यसैले वर्तमान राजनीतिक दलका नेता र कार्यकर्ताले यो परिवेशलाई बुझ्दै समयानुकूल रुपान्तरण र सुधार गर्नैपर्छ। यसरी परिवर्तनमा अनुकूलित हुन सकेमा दलहरू पुनः जनविश्वासका केन्द्र बन्न सक्छन् र लोकतान्त्रिक प्रणाली अझ सबल र स्थायी बन्छ।
विद्रोहको जगमा आएको सरकारले सुस्त गतिमा हिँड्ने छुट पाउँदैन, किनभने त्यस सरकारको उदय नै परिवर्तन, आशा र गतिशीलताको प्रतीकका रूपमा हुन्छ। विद्रोहको ऊर्जा जनताको पीडा, असन्तोष र सुधारप्रतिको आकांक्षाबाट जन्मिएको हुन्छ, त्यसैले त्यस्तो सरकार ढिलो निर्णय, ढिलासुस्ती र पुरानै शैलीमा अल्झिएर बस्न मिल्दैन । जनताले सरकारसँग तीव्र परिवर्तन, नतिजामुखी कार्यशैली र पारदर्शी शासनको अपेक्षा गर्छन्। यदि विद्रोहको धरातललाई उपयोग गरेर शासनमा पुगेर पुरानै यथास्थितिवादी प्रवृत्तिलाई निरन्तरता दिए भने त्यो जनभावनाको अपमान हुनेछ। त्यसैले विद्रोहको जगमा बनेको सरकारले सुधारका एजेन्डा तुरुन्त कार्यान्वयन गर्न, उत्तरदायी शासन देखाउन र जनतामा विश्वास पुनःस्थापित गर्न निरन्तर गतिशील रहनैपर्छ। परिवर्तनको आन्दोलनले जन्म दिएको सरकार ढिलाइ होइन, गति, उद्देश्य र परिणाममा चिनिनुपर्छ।
(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्)





























