अब अर्को कार्कीको पालो : दानबहादुर कार्की आईजीपी बनेसँगै ईश्वर कार्की बढुवाको लाइनमा
वि.सं.२०८२ कात्तिक २६ बुधवार
shares
काठमाडौं । नेपाल प्रहरीमा फेरि ‘कार्की–कार्की’को रोचक संयोग देखा परेको छ। हालै दानबहादुर कार्की प्रहरी महानिरीक्षक (IGP) मा पदोन्नति भएपछि अतिरिक्त महानिरीक्षक (AIG) स्तरमा एउटा दरबन्दी खाली हुने भएको छ । र, सो दरबन्दीका प्रमुख दाबेदार फेरि एक अर्का कार्की कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की नै बनेका छन्।
डीआईजी कार्की बढुवा वरीयतामा पहिलो स्थानमा छन् । २०८१ पुस २९ गते भएको डीआईजी बढुवामा उनी शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा राजेन्द्रप्रसाद भट्ट, तेस्रोमा दिनेशकुमार आचार्य, चौथोमा अरुण पौडेल र पाँचौंमा गोविन्द थपलिया रहेका थिए।
उल्लेखनीय कुरा के छ भने, यी सबै अधिकारीहरू नवनियुक्त IGP कार्कीसँगै २०५४ साल चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनीहरू २०६६ मंसिर २६ मा डीएसपी र २०७४ साउन १८ मा एसपीमा एकैसाथ पदोन्नति भएका थिए। तर, एसएसपी र डीआईजी बढुवाका क्रममा सीमित दरबन्दीका कारण केही पछाडि परेका थिए।
प्रहरी स्रोतका अनुसार, कात्तिक महिनाभित्रै डीआईजी ईश्वर कार्कीको नाम एआईजी पदका लागि सिफारिस हुने सम्भावना प्रबल छ । यसरी, एक कार्कीको बढुवाले अर्को कार्कीका लागि मार्ग खुल्ने परिस्थिति फेरि नेपाल प्रहरीमा दोहोरिएको छ।
































