नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरण र सामाजिक उत्तरदायित्वमा थप प्रतिबद्ध

606
shares

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड आफ्नो ४० वर्षे सफल यात्रा पूरा गर्दै ४१औँ वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहकार्यका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गरेको जनाएको छ। यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितधारकप्रति हार्दिक आभार व्यक्त गरेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडे ले सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे ले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै नवीनतम बैंकिङ सेवा निरन्तर विस्तार गर्ने जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विगत ८ वर्षदेखि वित्तीय साक्षरतासम्बन्धी चित्र पुस्तक प्रकाशन गर्दै आएको छ। यस ४०औँ वार्षिकोत्सवमा ‘३ आर सुन्दर संसार’ नामक आठौं संस्करण सार्वजनिक गरिएको छ। चित्रकथा पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयलाई सरल र ज्ञानवर्द्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरी रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो, जसमा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

हाल बैंकले देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

civil hospital
Hams Hospitals