सेबोन अध्यक्ष चयन प्रक्रिया सुरु, ४७ उम्मेदवार मैदानमा
वि.सं.२०८३ वैशाख २१ सोमवार
shares
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो।
अध्यक्ष सिफारिसका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सोही सूचनाअनुसार अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गरिएको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष बन्नका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार, पुँजी बजार, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ। साथै, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ।
सिफारिस समितिले आवेदनकर्तामध्येबाट ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ र तीमध्येबाट सरकारले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।
यसअघि सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ।





























