अध्यादेश २०८३ कार्यान्वयनपछि प्रतिष्ठान, बोर्ड र परिषद्का पदाधिकारी हटाइए

375
shares

काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ जना पदाधिकारी पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालय मातहतका ती पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार पदमुक्त भएका पदाधिकारीहरूलाई औपचारिक जानकारी दिने क्रम सुरु भइसकेको छ ।
“अध्यादेशअनुसार मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डका पदाधिकारी पदमुक्त भएका छन् । उहाँहरूलाई पत्राचार गरिरहेका छौँ,” सहप्रवक्ता डा. अधिकारीले भने ।

पदमुक्त हुने निकायहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत रहेका छन् । यसैगरी स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकायका पदाधिकारी पनि पदमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार अध्यादेश जारी भएकै दिनदेखि पदमुक्ति लागू गरिएको हो ।

उल्लेखनीय छ कि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते उक्त अध्यादेश जारी गरेका थिए, जसअनुसार विभिन्न मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यरत पदाधिकारीहरूलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो ।

civil hospital
Hams Hospitals