शेरबहादुर र आरजु देउवालाई पक्राउ गर्न इन्टरपोल प्रक्रिया सक्रिय

903
shares

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन नेपालस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक कागजात पठाइसकेको छ । यसअघि इन्टरपोलले थप विवरण र कागजात मागेपछि प्रक्रिया केही समय रोकिएको थियो ।

गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदासम्म उनीहरू विदेशमै रहेको बताइएको छ ।

स्रोतका अनुसार देउवा दम्पती १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि उनीहरू हङकङ पुगेको र हाल पनि त्यहीँ रहेको जानकारी प्रहरी स्रोतले दिएको छ ।

एनसीबी नेपालले औपचारिक रूपमा इन्टरपोलसँग पत्राचार गरिसकेको भए पनि रेड नोटिस भने हालसम्म जारी भएको छैन । यदि इन्टरपोलले रेड नोटिस स्वीकृत गरेमा उसका १९६ सदस्य राष्ट्रका सुरक्षा निकायले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउने बाटो खुल्नेछ ।

civil hospital
Hams Hospitals