प्रेस स्वतन्त्रमाथि बढ्दो हमला : निजी मिडियालाई विज्ञापन रोक्दा सञ्चार क्षेत्र संकटमा
वि.सं.२०८३ वैशाख ३० बुधवार
shares
काठमाडौं । नेपाल पत्रकार महासंघले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि हुने हमला र हस्तक्षेप तीव्र बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि महासंघकी अध्यक्ष निर्मला शर्माले विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना उल्लेख्य रूपमा बढेको बताएकी हुन् ।
कार्यक्रममा बोल्दै महासंघका महासचिव रामप्रसाद दाहालले समाचार लेखेकै आधारमा पत्रकारमाथि अपराध हुने, दोषीमाथि कारबाही नहुने दण्डहीनता, सञ्चारमाध्यमको खस्कँदो आर्थिक अवस्था तथा पत्रकारको पेशागत र भौतिक सुरक्षामाथिको जोखिमले प्रेस स्वतन्त्रता झन् संकटमा परेको बताए ।
उनले वर्तमान सरकारका कतिपय कदमले स्वतन्त्र प्रेस र लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएको टिप्पणी गरे । “पत्रकारिताको मेरुदण्ड विज्ञापन हो,” उनले भने, “सरकारले निजी सञ्चारमाध्यमलाई दिँदै आएको सरकारी विज्ञापन र सूचनामा रोक लगाएर प्रेस स्वतन्त्रतामाथि मात्र होइन, नागरिकको सूचनाको हकमाथि समेत प्रहार गरेको छ ।”
रास्वपा नेतृत्वको सरकारले गत चैत २३ गतेदेखि सरकारी सूचनामूलक विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने नीति अघि बढाएपछि निजी क्षेत्रबाट सञ्चालित दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका र अनलाइन मिडिया गम्भीर आर्थिक संकटमा परेका छन् ।
पत्रकार महासंघका अनुसार सरकारी विज्ञापन बन्द हुँदा धेरै सञ्चारकर्मीको रोजीरोटी संकटमा परेको छ भने स्वरोजगारमूलक पत्रपत्रिकाहरू बन्द हुने अवस्थामा पुगेका छन् । विगतमा यिनै निजी सञ्चारमाध्यमले भ्रष्टाचार, अनियमितता र सत्ता दुरुपयोगका ठूला–ठूला समाचार सार्वजनिक गर्दै आएका थिए, जसबाट आमनागरिक सुसूचित हुने गरेका थिए ।
महासंघले पछिल्लो समय डिजिटल मिडियामा प्रकाशित भ्रष्टाचारसम्बन्धी समाचार हटाउने, ह्याक गर्ने तथा दबाब दिने प्रवृत्ति पनि बढेको जनाएको छ । छापामाध्यममा प्रकाशित समाचार भने दस्ताबेजका रूपमा सुरक्षित रहने भएकाले त्यसलाई सजिलै हटाउन नसकिने र प्रमाण संकलनमा समेत सहयोग पुग्ने तर्क पत्रकारहरूको छ ।
महासंघका पदाधिकारीहरूले सरकारले छापामाध्यम र निजी मिडियालाई कमजोर बनाउने प्रयास गर्नु भनेको सूचना नियन्त्रणको प्रयास भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार निजी सञ्चारमाध्यमलाई कमजोर पार्दै सरकारी मिडियालाई मात्र प्राथमिकता दिँदा राज्यका धेरै सूचना आमनागरिकसम्म पुग्न सक्दैनन् ।
पत्रकार महासंघले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने कुनै पनि कदम अन्ततः लोकतन्त्र, पारदर्शिता र सुशासनकै लागि घातक हुने चेतावनी दिएको छ । महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारमाथि हुने आक्रमण रोक्न र निजी सञ्चारमाध्यमलाई विभेदरहित व्यवहार गर्न सरकारसँग माग गरेको छ ।




























