नेपाल टेलिकमको नाफा बढेपनि भविष्यप्रति चिन्ता किन बढ्दैछ?

267
shares

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म राजश्व र खुद मुनाफा बढेको विवरण सार्वजनिक गरे पनि कम्पनीको दीर्घकालीन वित्तीय अवस्थाप्रति भने प्रश्न उठ्न थालेको छ।

कम्पनीका अनुसार कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ भने खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ। तर, वित्तीय विवरणभित्र लुकेको वास्तविकता भने त्यति उत्साहजनक देखिँदैन।

नेपाल टेलिकमको ब्याज आम्दानी मात्रै एक वर्षमा करिब रु. ५७ करोड ६६ लाखले घटेको छ, जुन २०.५७ प्रतिशतको गिरावट हो। घट्दो ब्याजदरका कारण कम्पनीको निष्क्रिय आम्दानी कमजोर बन्दै गएको देखिएको छ, जसले भविष्यमा नगद प्रवाह र लगानी क्षमतामाथि असर पार्न सक्ने विश्लेषण गरिएको छ।

त्यस्तै, नाफा बढ्नुको मुख्य कारण सेवा विस्तार वा नयाँ व्यावसायिक उपलब्धिभन्दा पनि ह्रासकट्टी खर्चमा आएको कमी देखिएको छ। कम्पनीको ह्रासकट्टी खर्च ८.४६ प्रतिशतले घट्दा कागजी रूपमा नाफा बढेको देखिए पनि सेवा गुणस्तर र पूर्वाधार विस्तारमा पर्याप्त लगानी भइरहेको छ वा छैन भन्ने प्रश्न उठ्न थालेको छ।

GSM सेवाबाट केही राजश्व वृद्धि भए पनि बजारमा निजी दूरसञ्चार कम्पनीहरूसँगको प्रतिस्पर्धा, इन्टरनेट सेवाको गुणस्तरप्रति बढ्दो गुनासो, र नयाँ प्रविधिमा सुस्त लगानीले नेपाल टेलिकममाथि दीर्घकालीन दबाब बढाइरहेको देखिन्छ।

विश्लेषकहरूका अनुसार अहिले देखिएको नाफा वृद्धिलाई मात्र सफलता मान्नुभन्दा कम्पनीले भविष्यको प्रतिस्पर्धा, प्रविधि विस्तार र सेवा सुधारमा कति प्रभावकारी रूपमा लगानी गर्न सक्छ भन्ने विषय बढी महत्वपूर्ण हुनेछ।

civil hospital
Hams Hospitals