सेवाग्राहीबाट दुई लाख घुस लिएको आरोपमा पक्राउ परेका नायबसुब्बाविरुद्ध मुद्दा दायर
वि.सं.२०८३ जेठ ४ सोमवार
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आज मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुसलिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार अनुसन्धानको सिलसिलामा नायव सुब्बा खाम्चाले जीर्ण श्रेष्ता कायम गरी अपुताली जग्गा नामसारी समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुसररिसवत माग गरी मोलमोलाई गरी दुई लाख रुपैयाँ लिएको पुष्टि भएको छ ।
निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।



























