‘७ दिनभित्र सुध्रिनुस्, नत्र सिल!’ फोहोर र असुरक्षित पेट्रोल पम्पमाथि नेपाल आयल निगमको डण्डा

1.4K
shares

काठमाडौं । देशभर सञ्चालनमा रहेका अव्यवस्थित, फोहोर र असुरक्षित पेट्रोल पम्पमाथि नेपाल आयल निगमले अन्ततः कडा एक्सन सुरु गरेको छ । वर्षौंदेखि उपभोक्ताको गुनासो बेवास्ता गर्दै आएका पेट्रोल पम्पहरूलाई निगमले अब ७ दिनभित्र सुधार गर्न अल्टिमेटम दिएको हो । तोकिएको समयभित्र अवस्था नसुधारे चेतावनीदेखि इन्धन आपूर्ति रोक्का र लाइसेन्स नवीकरणमा कडाइसम्मको कारबाही गरिने निगमले स्पष्ट संकेत दिएको छ ।

निगमद्वारा सातै प्रदेशका कार्यालय र डिपोमार्फत जारी परिपत्रमा अधिकांश पेट्रोल पम्पहरू न्यूनतम सेवा मापदण्डमै असफल भएको उल्लेख गरिएको छ । अनुगमनका क्रममा कतिपय पम्पहरूमा अग्नि सुरक्षाका उपकरण म्याद गुज्रिएका, कतै कामै नगर्ने अवस्थामा रहेका तथा कतिपय स्थानमा उपकरण नै नराखिएको भेटिएको निगम स्रोतले जनाएको छ ।

पेट्रोलजस्तो अत्यन्त जोखिमपूर्ण पदार्थ बिक्री हुने स्थानमै आधारभूत सुरक्षा व्यवस्था लापरवाहीपूर्वक बेवास्ता गरिएको पाइएपछि निगम आक्रामक बनेको हो । अब प्रत्येक पम्पमा फायर एक्स्टिङ्गुइशर, बालुवा, पानीको स्रोत तथा आपतकालीन सुरक्षा प्रणाली अनिवार्य रूपमा दुरुस्त राख्न निर्देशन दिइएको छ ।

निगमले फोहोर र दुर्गन्धित शौचालयमाथिसमेत कडा आपत्ति जनाएको छ । विशेषगरी राजमार्ग क्षेत्रमा रहेका धेरै पेट्रोल पम्पहरूमा यात्रु प्रयोग गर्नै नसक्ने शौचालय, खानेपानीको अभाव र फोहोर वातावरणका कारण व्यापक आलोचना हुँदै आएको थियो । अब सफा शौचालय, स्वच्छ खानेपानी र नियमित सरसफाइ अनिवार्य गरिएको छ ।

त्यति मात्र होइन, जीर्ण क्यानोपी, रंग उडेको संरचना, तेल चुहावट र फोहोर थुपारेर व्यवसाय चलाइरहेका पम्पहरूलाई तत्काल मर्मत, रंगरोगन र हरियाली व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको छ । निगमले अब पेट्रोल पम्पलाई “इन्धन हाल्ने ठाउँ” मात्र नभई “सेवा केन्द्र” का रूपमा विकास गर्नुपर्ने बताएको छ ।

मूल्यसूची स्पष्ट नराख्ने, उपभोक्तासँग अतिरिक्त रकम असुल्ने वा सेवा शुल्कका नाममा ठगी गर्ने पम्पमाथिसमेत कडा निगरानी गरिने निगमले जनाएको छ ।

निगमका एक उच्च अधिकारीका अनुसार अबको अनुगमन कागजी औपचारिकतामा सीमित हुने छैन । “निर्देशन टेरेर पुरानै शैलीमा चल्ने पम्पलाई यसपटक छुट हुँदैन,” ती अधिकारीले चेतावनी दिए ।

उपभोक्ता अधिकारकर्मीहरूले निगमको कदम ढिलो भए पनि स्वागतयोग्य भएको बताएका छन् । उनीहरूका अनुसार प्रभावकारी अनुगमनको अभावमा धेरै व्यवसायी लापरवाह बन्दै गएका थिए । “सानो लापरवाहीले पनि ठूलो विस्फोट हुन सक्छ,” एक अधिकारकर्मीले भने, “अब कारबाही व्यवहारमै देखिनुपर्छ ।”

सर्वसाधारणले भने निगमको यो निर्देशन फेरि कागजमै सीमित हुने हो कि व्यवहारमा पनि देखिने हो भन्ने प्रश्न उठाएका छन् । विगतमा पनि पटक–पटक चेतावनी जारी भए पनि प्रभावकारी कारबाही नहुँदा पेट्रोल पम्पहरूको बेथिति जस्ताको तस्तै रहेको उनीहरूको गुनासो छ ।

अब भने ७ दिने अल्टिमेटमपछि देशभरका पेट्रोल पम्प साँच्चै सुध्रिन्छन् कि पुरानै लापरवाही दोहोरिन्छ, त्यो आगामी अनुगमनले तय गर्नेछ ।

civil hospital
Hams Hospitals