नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको २५औँ साधारणसभा सम्पन्न, प्रेस स्वतन्त्रता र मिडिया संकट मुख्य बहसको विषय
वि.सं.२०८३ जेठ १० आइतवार
shares
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको २५औँ साधारणसभा सम्पन्न भएको छ ।
२०८३ जेठ ९ गते शनिबार सञ्चारग्राममा आयोजित साधारणसभामा प्रेस स्वतन्त्रता, पत्रकारिताको विश्वसनीयता, मिडियामाथिको हस्तक्षेप तथा संस्थागत सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो ।
साधारणसभाको उद्घाटन वरिष्ठ पत्रकार किशोर नेपाल ले ब्यानर वाचन गरेर गरेका थिए । प्रमुख वक्ताका रूपमा मन्तव्य राख्दै उनले पत्रकारिताको अस्तित्व, स्वतन्त्रता र मूलधारे सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन पत्रकारहरू एकताबद्ध हुनुपर्ने बताए ।
सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढे पनि व्यावसायिक पत्रकारिताको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्नुपर्ने धारणा राखे । उनले सरकारको विज्ञापन नीति र सञ्चारमाध्यमप्रतिको व्यवहार विगतदेखि नै अस्थिर रहँदै आएको उल्लेख गर्दै पत्रकारले निरन्तर संघर्षमार्फत आफ्नो पेसागत मर्यादा जोगाउनुपर्ने बताए ।
पत्रकारिता केवल पेसा नभई लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले यसको संस्थागत अस्तित्व कमजोर हुन नदिन आग्रह गरे । काठमाडौं शाखाले देशभरका पत्रकारलाई दिशा दिने क्षमता राख्ने भन्दै शाखाको सक्रियता र पत्रकारको स्वतन्त्र भूमिकाले मात्रै महासङ्घलाई बलियो बनाउन सक्ने उनको भनाइ थियो ।
महासङ्घकी अध्यक्ष निर्मला शर्मा ले राज्यले मिडियामाथि नियन्त्रण र विज्ञापनमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढेको बताइन् ।

सञ्चारसम्बन्धी कानुन तथा सरकारी परिपत्रमार्फत मिडियालाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनको दाबी थियो ।
उनले महासङ्घले प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गरिरहेको र विषयलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उठाइएको जानकारी दिँदै आन्दोलनलाई रणनीतिक र उपलब्धिमूलक बनाउन आवश्यक रहेको बताइन् । संविधान संशोधनमार्फत अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई थप सुदृढ बनाउन महासङ्घले सुझाव दिने जानकारीसमेत उनले गराइन् ।
महासङ्घका पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारीले विगतमा सामाजिक सञ्जाल बन्द हुँदा समेत महासङ्घले सशक्त आन्दोलन गर्न नसकेको टिप्पणी गरिन् । केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता मर्यादित बाटोबाट विचलित हुँदै गलत दिशातर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले आफ्नो कार्यकालमा शाखाले संस्थागत मजबुती, प्रेस स्वतन्त्रता, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरेको बताइन् । “मिडिया बचाउ अभियान”, पत्रकार तालिम, रक्तदान तथा अन्तरजिल्ला सहकार्यलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उल्लेख गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद शाखाको गरिमा उँचो बनाउने प्रयास गरिएको धारणा राखिन्।
कार्यक्रममा काठमाडौं शाखाका निवर्तमान अध्यक्ष सूर्य सुवेदीले नेतृत्व तहमा पारदर्शिता र खुला बहसको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा महासङ्घका पदाधिकारी, पूर्वअध्यक्ष, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उद्घाटन सत्र शाखाकी अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । शाखाकी उपाध्यक्ष कान्ति न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शाखाका सचिव रमेश बोहराले गरेका थिए ।
साधारणसभामा आशिष गुरागाइँ, शन्ताराम बिडारी, दामोदर दवाडी, सूर्य सुवेदी, लक्ष्मणदेव पाण्डे, शिव लम्साल, नहकुल अर्याल, रामकृष्ण अधिकारी, बैरागी जेठा, रोशन दानीलगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
बन्दसत्रमा सचिव रमेश कुमार बोहराले वार्षिक सङ्गठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले वार्षिक सङ्गठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता तथा पत्रकारको पेसागत मर्यादा संरक्षणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।


























