संसदमा रमिता : बेल घेराउ र नाराबाजीका बीच नियमावली जबर्जस्ती पारित

813
shares

 

 

काठमाडौँ । प्रतिनिधिसभा आइतबार राति अभूतपूर्व तनाव, हंगामा र टकरावका बीच नयाँ नियमावली पारित भएको छ। विपक्षी सांसदहरूको चर्को नाराबाजी, बेल घेराउ र विरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले निर्णय प्रक्रिया रोकेनन् र नियमावली पारित भएको घोषणा गरे।

 

नियमावलीमाथिको छलफल सकिएपछि संसद् निर्णय प्रक्रियामा प्रवेश गर्नेबित्तिकै विपक्षी सांसदहरूले असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका थिए। विपक्षी सांसदहरूले संशोधन प्रस्तावलाई थप अध्ययनका लागि विषयगत समितिमा पठाउनुपर्ने अडान राखेका थिए। तर सभामुखले कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउँदै नियमावलीलाई पुनः समितिमा नपठाइने स्पष्ट पारेपछि संसद्को वातावरण थप तनावपूर्ण बनेको थियो।

 

संसद् नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुखले संशोधन प्रस्तावमाथि निर्णय प्रक्रिया अघि बढाएका थिए। सो क्रममा संशोधन प्रस्तावकर्ता सांसद नरेन्द्रकुमार केरुङले आफ्नो प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

 

निर्णय प्रक्रियामा प्रवेशसँगै सत्तापक्ष र विपक्षबीच तीव्र टकराव देखिएको थियो। विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए भने केही सांसदहरूले संसद्को बेल घेराउ गरेका थिए। नाराबाजी झन् चर्किँदै जाँदा संसद् बैठक कक्ष तनावको केन्द्र बनेको थियो।

 

स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि मर्यादापालकहरू परिचालन गर्नुपरेको थियो। केही सांसदहरू सभामुखको आसनतर्फ अघि बढ्न खोजेपछि मर्यादापालकहरूले रोकेका थिए। बैठकका क्रममा केही सांसदहरूले कुर्सी उचाल्ने, कुर्सीमाथि उभिने तथा आक्रोशपूर्ण व्यवहार प्रदर्शन गरेपछि संसद्को गरिमा र मर्यादामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको थियो।

 

नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिपक्षको मागलाई सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराएकी थिइन्। तर सभामुखले प्रक्रिया नरोकी निर्णयलाई निरन्तरता दिएका थिए। विपक्षी सांसदहरूको विरोध जारी रहँदासमेत सभामुखले संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै अन्ततः नियमावली पारित भएको जानकारी दिएका थिए।

 

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि कुल ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। यसका लागि गत चैत २३ गते १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा गठित समितिमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूको सहभागिता रहेको थियो।

 

समितिले वैशाख ८ गते नियमावलीको मस्यौदा तयार गरी वैशाख २८ गते प्रतिनिधिसभामा पेस गरेको थियो। लामो समयदेखि जारी छलफल, मतभेद र राजनीतिक रस्साकस्सीपछि अन्ततः आइतबार राति नियमावली पारित भएको हो।

 

नियमावली पारित भए पनि संसद्मा देखिएको हंगामा, सांसदहरूको आक्रामक व्यवहार र मर्यादापालक परिचालनसम्मको अवस्था लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक संकेतका रूपमा हेरिएको छ। संसद् कानून निर्माण र नीतिगत बहसको थलो भए पनि आइतबारको दृश्यले भने प्रतिनिधिसभालाई केही समयका लागि राजनीतिक संघर्षस्थलमा रूपान्तरण गरेको देखिएको थियो।

civil hospital
Hams Hospitals