भक्तपुरमा बेथितिका चाङ, संघीय सरकारको जाँदैन ध्यान !

225
shares

 

जनताले तिरेको कर र वैदेशिक ऋण तथा अनुदानबाट सरकारले विकास निर्माणका निम्ति बजेट विनियोजन गर्दछ । तर, करोडौं आएको बजेटमा लाखको मात्र काम हुँदै आएको छ । उदाहरणका लागि कतै बाटो निर्माण गर्न एक करोडको बजेट आएको भएमा दशदेखि २० लाखको मात्र काम गरिन्छ । बाँकी रकम ठेकेदार, कर्मचारी, जनप्रतिनिधिले पचाउँछन् । यस्तै भक्तपुरमा पनि भएको छ ।

वि.सं. २०२४ सालमा तत्कालिन राजा महेन्द्रले भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लाघारी तीनकुनेस्थित स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए । ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको स्वामित्वमा गयो । त्यसपछि जग्गा अतिक्रमण शुरु भयो ।

ट्रष्टले आफ्नो सम्पत्ति संरक्षणमा चासो नदिँदा विशेषगरी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले यो जग्गा हड्पेर घरलगायत संरचना बनाए । त्यसबाट जोगाउन संघीय सरकारले २०७४ सालमा जग्गा घेराबन्दीका निम्ति तीन करोड रुपैयाँ बजेट दियो । भक्तपुर नगरपालिकाले जग्गा घेराबन्दी कार्य गर्यो । तर, यसमा पनि व्यापक भ्रष्टाचार भएको आरोप छ । जग्गामा तीन पट्टी पर्खाल लगाइएको छ भने खोला भएकोतर्फ खुल्ला छ ।

पर्खाल लगाउँदा बढीमा २० देखि ३० लाख रुपैयाँ खर्च भएको स्थानीय दाबी गर्छन् । ‘पर्खालको नाममा इट्टा र सिमेण्टीमात्र लगाइएको छ । त्यही दुई–तीन वटा फलामको गेट छ । त्यतिबेला निर्माण सामग्री खासै महँगो नभएकोले सबै गरेर बढीमा ३० लाख खर्च भएको हुनुपर्छ,’ अधिकांश स्थानीय भन्छन् । संघीय सरकारको बजेटमा पर्खाल लगाइएपनि भक्तपुर नगरपालिका आफैंले निर्माण गरेको दाबी गर्छ ।

यतिमात्र होइन, भक्तपुर क्षेत्र नम्बर १, मा ०४८ सालदेखि संघीय वा प्रदेश सरकारले बजेट नै नदिएको नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता झुटो दाबी गर्छन् । जनतालाई भ्रमित बनाउँछन् । त्यसैले, अब संघीय वा प्रदेश सरकारले भक्तपुर क्षेत्र नम्बर १, मा ०४८ सालदेखि हालसम्म कति बजेट दिइएको छ ? विवरण सार्वजनिक गर्नुपर्छ ।गत फागुन २१ गतेको चुनावबाट भक्तपुर क्षेत्र नम्बर १, मा ३५ वर्षदेखि रहेको नेमकिपाको गढ तोडियो तर भ्रम फैलाउने क्रम अझै रोकिएको छैन । अहिलेपनि उनीहरु जनतालाई आफ्नो पक्षतिर पार्न झुट्टा दाबी गरिरहेका छन् । नेमकिपाले दिनैपिच्छे महँगा होटल, पाटी प्यालेसमा कार्यक्रम राख्दछ र अन्य पार्टीमा नलाग्न आग्रह गर्छ ।

भक्तपुरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गामा नेमकिपा, एमाले र कांग्रेसका कार्यकर्ताहरुले ठूल्ठूला घर बनाएका छन् । मठमन्दिर, पार्टीपौवा, इनार, ढुंगेधारासमेत मासेर घर ठड्याइएको छ । यसको ज्वलन्त उदाहरण भक्तपुर नगरपालिका–१, सल्लाघारी तीनकुने चौरस्थित यातायात कार्यालयअगाडि रहेको ठूलो घर हो । त्यो हो विकुलाल खिउँजुको हो ।
उनले तीन वटा ढुंगेधारा मासेर घर बनाएको स्थानीयको आरोप छ । त्यसरी बनाइएको घरमा अहिले किरानादेखि फलफूल, ब्यूट्रीपार्लरसम्म सञ्चालन भएको छ भने घर सम्पन्नता प्रमाणपत्र पनि पाइसकेको छ । खिउँजु नेमकिपाको कार्यकर्ता भएकै कारण ढुंगेधारा मासेर बनाइएको घरको समेत सम्पन्नता प्रमाणपत्र पाएको स्थानीय बताउँछन् ।

यहाँ नेमकिपाका कार्यकर्ताको मात्र नभई सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको भक्तपुर नगरपालिकाको पनि मनलाग्दी चलिआएको छ । ट्रष्टको जग्गामा नगरपालिकाको रजाईं चलेको छ । चौरअगाडि यातायात कार्यालय रहेकोले दैनिक सयौं सेवाग्राही आउँछन् । धेरैजसो सेवाग्राही मोटरसाइकल, स्कुटर वा चार पाङ्ग्रे सवारीसाधनमा आउँछन् । ती सवारीसाधन चौरमा पार्किङ्ग गरिन्छ ।

यसरी पार्किङ गरेबापत घण्टाकै तीन सय रुपैयाँसम्म तिर्नुपर्छ । रोचक कुरा चाँहि यातायात कार्यालय सञ्चालित घरलाई मासिक तीन लाख रुपैयाँ भाडा तिरिन्छ । जबकी यो ठाउँमा ५० हजारमै एकदम राम्रा घरहरु भाडामा भेटिन्छन् । अर्कोकुरा, एउटा यातायात कार्यालय रहेको दश मिनेटको दुरीमा अर्को पनि छ । राधेराधेमा पनि यातायात कार्यालय सञ्चालनमा छ । त्यो पनि भाडाकै घरमा, मासिक तीन लाख रुपैयाँ तिरिन्छ ।

एउटै मन्त्रालयको एकै प्रकृतिको कार्यालय दश मिनेटको दुरीमा सञ्चालन हुँदा राज्यलाई कति भार थपिरहेको छ । यदि यी यातायात कार्यालय गाभिने हो भने खर्च त कम हुने नै छ सँगै बागमतीका दुर्गम जिल्लामा पनि यातायात कार्यालय पुग्नेछन् । यस्तै, ट्रष्टको स्वामित्वमा रहेको सल्लाघारी तीनकुने चौरमा दशैं–तिहारमा खसी, बोका, च्याङ्ग्रा, भेडा बेचबिखन गर्न राखिन्छ । यसको पनि रकम नगरपालिकाले उठाउँछ ।

सानो ठाउँ ओगटेको समेत दिनकै ३० हजारदेखि लाखौं रकम असुलिन्छ । चाडपर्वका बेला यहाँ मेलासमेत लागिन्छ । यसको पनि दिनकै लाखौं रुपैयाँ नगरपालिकालाई बुझाइन्छ । अन्य समयमा ड्राइभिङ, कराँते सिकाउनेजस्ता गतिविधि चौरभित्र हुन्छन् । ड्राइभिङ सेन्टरहरुले चौरभित्र घण्टाकै दुई पाङ्ग्रे सवारीको पाँच सय र चार पाङ्ग्रे गाडी सिकेको असुल्छन् ।
कराँते सिकाएको मासिक एक जनासँग पाँचदेखि सात हजारसम्म असुलिन्छ । दिनहुँ सयौं जनालाई कराँते सिकाइन्छ ।

चौरभित्रै फुटबल पनि खेलिन्छ, त्यो पनि पैसाको बाजी राखेर । एउटा खेलकै दुईदेखि पाँच हजारसम्म बाजी राखिएको हुन्छ र जित्नेले सो रकम पाउँछ । घाम ताप्न वा खुल्ला ठाउँ खोज्दै टाढाटाढाका मानिसहरु सल्लाघारी तीनकुने चौरसम्म आइपुग्छन् । बिहानदेखि बेलुकासम्मै चौरमा भीडभाड हुन्छ ।चौरमा मकै, चटपट्े बेच्नेहरु छ्यापछ्याप्ती छन् । मकै पोलेर घोगाकै ३५ देखि ४० रुपैयाँमा बेचिन्छ भने चट्पटे पनि ५० रुपैयाँदेखि बनाइन्छ ।

तर, मकै वा चट्पटे खाएको फोहोर चौरमै छोडिन्छ । यतिसम्म लापरबाही छ कि मकै पालेर आगो नै ननिभाई हिडिँन्छ । यसले आगलागीको खतरासमेत अत्यधिक छ । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो ।त्यसक्रममा सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेशस्थान, खरिदपाटी, निकोसेरा, सिर्जनानगर पूरैसहित राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, राजेश हार्डवेयरलगायत रहेका जग्गा सरकारी, गुठी, ऐलानी र आर्यघाटको भनि राखिएको थियो ।

०२९ सालसम्म यहाँ एउटै घर बनेका थिएनन् । ०३२ सालमा एक जनाले तीनकुने चौरअगाडि छाप्रो हाले । उनैले ०३५ सालमा ढुंगा, माटो र टायलको छानो हालेर घर बनाए ।त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था थियो । ०४६ चैत २४ गते पञ्चायत ढलेर बहुदलीय व्यवस्था आयो । यसपछि यहाँको सबै जग्गा हड्पियो । अहिले ७६ जिल्लाका जनताले यहाँ जग्गा किनेर घर बनाएका छन् । उनीहरुलाई थाहा छैन कि आफ्नो घर रहेको जग्गा सरकारी, गुठी, ऐलानी हो ।

भक्तपुरमा एक लाख ६७ हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको सुनिन्छ । यहाँ चार वटा स्थानीय तह छन् । संघीय सरकारले अतिक्रमित सार्वजनिक जग्गा वा सम्पत्ति फिर्ता ल्याउने निर्णय गरेपनि भक्तपुरमा सबै मौन छन् । जनप्रतिनिधिदेखि सिडिओसम्मको यसतर्फ चासो गएको छैन ।

civil hospital
Hams Hospitals