सिभिल अस्पतालमा सिटीस्क्यान र एमआरआई सेवामा समस्या, निजी अस्पतालसँगै मिलेमतो
वि.सं.२०८३ असार १२ शुक्रवार
shares
काठमाडौं ।नेपाल सरकारका निजामती कर्मचारी तथा सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा अत्यावश्यक स्वास्थ्य सेवाहरू नै समस्यामा छन्।
अस्पतालको सिटी स्क्यान मेसिन ६ महिनादेखि बन्द रहे पनि अझै सञ्चालनमा आउन सकेको छैन। यसका कारण बिरामीहरू निजी अस्पताल जान बाध्य भएका छन् भने अस्पतालले दैनिक हुने लाखौं रुपैयाँको आम्दानीसमेत गुमाइरहेको छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएको छैन ।
यता एमआरआई सेवा पनि सुचारु छैन भने छ तर हिरिकहिरिक गरेर चलेको छ। उपकरण आपूर्तिकर्ता कम्पनीले भुक्तानीमा समस्या भएको कारण मर्मत तथा प्राविधिक सहयोग प्रभावकारी रूपमा दिन नसकेको बताएको छ । अस्पताल प्रशासनले समस्या समाधानका लागि पहल भइरहेको जनाएको भए पनि लामो समयसम्म सेवा नियमित हुन नसक्दा प्रशासनको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ।
अस्पतालमा अनलाइन सेवा पनि बारम्बार अवरुद्ध हुने गरेको सेवाग्राहीहरूको गुनासो छ। यसले टिकट, रिपोर्ट तथा अन्य सेवामा अनावश्यक ढिलाइ र सास्ती निम्त्याएको छ।
यस्तै, रेडियोलोजी र प्रयोगशालामा कार्यरत कर्मचारीहरूले जोखिम भत्ता नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। जोखिमपूर्ण वातावरणमा काम गर्दा पनि सरकारले तोकेको सुविधा नपाएको उनीहरूको भनाइ छ।
अस्पतालको प्रशासन र खरिद व्यवस्थापनको जिम्मेवारी प्रायः निजामती कर्मचारीलाई नै काजमा खटाइने व्यवस्था भए पनि आफ्नै सेवाका लागि स्थापना गरिएको अस्पतालमा यस्ता समस्या महिनौँसम्म समाधान हुन नसक्नुले प्रशासनिक नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ।
निजी अस्पतालसँग मिलेमतो भएको भन्ने आरोप पनि उठेको छ । अत्यावश्यक उपकरण लामो समयसम्म सञ्चालनमा नआउनु, सेवा प्रभावित हुनु र व्यवस्थापकीय निर्णयमा ढिलाइ हुनुले यो आरोपलाई पुष्टि गरेको छ । त्यहाँ कार्यरत केही कर्मचारी भने काठमाडौंका निजी अस्पतालमा यहाँका नितिगत तहका व्यक्तिको सम्बन्ध रहेको बताउँछन् ।
अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?




























