पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा
वि.सं.२०८३ साउन १ शुक्रवार
shares
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले व्यवसायी दीपक भट्टलगायतलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा छल्ने वातावरण बनाएको आरोप लगाउँदै पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ जना/संस्थाविरुद्ध अभियोग दर्ता गरेको हो।
अभियोगपत्रमा पौडेललाई मतियारको भूमिकामा रहेको दाबी गर्दै २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्न र बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न माग गरिएको छ।
विशेष अदालतको आदेशसँगै पौडेलले मुद्दाको अन्तिम किनारा नलागेसम्म साधारण तारेखमा रहेर कानुनी प्रक्रिया सामना गर्नेछन्। मुद्दाको थप सुनुवाइ विशेष अदालतमा जारी रहनेछ।




























