आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता
वि.सं.२०८३ साउन ५ मंगलवार
shares
काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा बिनु यादवले आफ्नो मुद्दासम्बन्धी न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्रीसमक्ष धारणा राखेकी छन् ।
उनले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयमा लिखित निवेदनसमेत पेश गरेकी छन् ।
मन्त्री बादीले बिनु यादवको विषयप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताइन् । उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटवार्ताका क्रममा बिनु यादवको स्वास्थ्य अवस्था, आवश्यक सहयोग तथा जीविकोपार्जनसँग सम्बन्धित विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयको अधिकारक्षेत्रभन्दा बाहिर रहेका विषयहरू सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाइने विषयमा समेत छलफल भएको थियो।
मन्त्री बादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको बताइन् । उनले मन्त्रालयको अधिकारक्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।





























