भायोनेटको मनपरि कहिलेसम्म ?
वि.सं.२०८३ साउन ११ सोमवार
shares
म भायोनेट इन्टरनेट सेवाको प्रयोगकर्ता हुँ।
सेवा जडान गरेपछि लगातार करिब तीन महिना इन्टरनेट सञ्चालन हुन सकेन। त्यसपछि म भायोनेटको कार्यालयमा गई समस्या जानकारी गराएको थिएँ। त्यहाँ मनोज पाण्डे (आईटी) लगायत सम्बन्धित कर्मचारीहरूसँग छलफल हुँदा, नचलेको तीन महिनाको अवधि सेवामा थप गरिदिने सहमति भएको थियो। उक्त सहमतिपछि हामी फर्कियौँ।
तर, करिब १२ महिना बितिसकेपछि अहिले भायोनेटबाट फोन गरी “इन्टरनेट नवीकरण गर्नुस्, हामीलाई त्यसबारे जानकारी छैन” भन्ने जवाफ दिइएको छ। यदि कम्पनीका कर्मचारीसँग भएको सहमतिलाई कम्पनीले नै अस्वीकार गर्ने हो भने त्यसको जिम्मेवारी ग्राहकले किन लिनुपर्ने?यस विषयमा जानकारी गराउन मैले कार्यालयका रविन पाण्डेलाई पटक–पटक फोन तथा एसएमएस समेत गरेको थिएँ, तर कुनै प्रतिक्रिया प्राप्त भएन।
सबैभन्दा दुःखद पक्ष के हो भने, तीन महिना सेवा नदिएको क्षतिपूर्ति पनि नदिने र अवधि सकिएपछि सेवा नै बन्द गरिदिने कार्य ग्राहकमैत्री व्यवहार हुन सक्दैन।
उक्त तीन महिनाको सेवा अवरुद्ध भएको विषयमा भायोनेटको कर्पोरेट कार्यालयमै दुवै पक्षबीच भनाभनसमेत भएको थियो। त्यसबेला कम्पनीका केही कर्मचारीले “कृपया विवाद नगर्नुहोस्, नचलेको समय बराबरको सेवा पछि थप गरिदिन्छौँ” भन्ने आश्वासन दिएर हामीलाई फर्काएका थिए।
अब एक वर्षपछि आएर “हामीलाई त्यसबारे केही थाहा छैन, पहिले नवीकरण गर्नुस्” भन्नु न्यायोचित होइन। कम्पनीले आफ्ना कर्मचारीमार्फत भएको सहमतिको सम्मान गर्दै नचलेको तीन महिनाको सेवा अवधि थप गरी ग्राहकप्रतिको दायित्व पूरा गर्नुपर्छ। अन्यथा कारबाही भोग्न पर्छ ।





























