पति–पत्नीको विवादपछि आत्मदाह प्रयास, २७ वर्षीया गुरुङको मृत्यु
वि.सं.२०८३ साउन १२ मंगलवार
shares
काठमाडौं । काठमाडौंको बौद्धमा गत साउन ४ गते आत्मदाह प्रयास गरेकी २७ वर्षीया सालु गुरुङको उपचारका क्रममा निधन भएको छ।
काभ्रेको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा परिवारसँग बस्दै आएकी गुरुङले बौद्ध क्षेत्रमा खाजा घर सञ्चालन गर्दै आएकी थिइन्। प्रहरीका अनुसार पति–पत्नीबीच भएको झैँझगडापछि उनले बौद्ध गेटअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।
घटनापछि उनलाई तत्काल गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको थियो। उपचारकै क्रममा साउन ९ गते उनको निधन भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको शव माइती पक्षले जिम्मा लिएको छ। हालसम्म घटनाका सम्बन्धमा कसैविरुद्ध किटानी जाहेरी भने दर्ता नभएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


























