४० जनाले दिए सामूहिक राजीनामा,थप चर्कियो विवाद,सीडीओ–एसपीकै व्यवहारविरुद्ध विद्रोह

456
shares

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोड घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनरत चिकित्सकहरूले प्रशासनबाट समेत दुर्व्यवहार भएको आरोप लगाउँदै राजीनामा दिएका हुन्।

अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये झन्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र उनीहरूले पनि सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन्।

चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय पुगेका थिए।

डा. सिंहका अनुसार वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने बताएपछि वातावरण तनावपूर्ण बनेको थियो। त्यसपछि सीडीओ र जिल्ला प्रहरी प्रमुख (एसपी) ले चिकित्सकहरूमाथि अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए।

उनका अनुसार वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूको मोबाइल खोसेर पुनः कार्यालयभित्र लगेको तथा करिब एक घण्टासम्म नियन्त्रणमा राखेको थियो। आफूहरूमाथि अपराधीसरह व्यवहार गरिएको भन्दै यस्तो अवस्थामा अस्पतालमा सुरक्षित रूपमा काम गर्न नसकिने निष्कर्षमा चिकित्सकहरू पुगेको उनले बताए।

चिकित्सकहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न, चिकित्सकमाथि आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा घटनामा संलग्न प्रशासनिक अधिकारीहरूमाथि पनि आवश्यक छानबिन गर्न माग गरेका छन्। उनीहरूले हालका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख पदमा रहुञ्जेल काममा नफर्किने अडानसमेत दोहोर्‍याएका छन्।

यसैबीच, नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो। उक्त घटनामा अस्पतालभित्र तोडफोड हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनापछि देशभरका चिकित्सकहरूले ओपीडी सेवा बन्द गर्दै आन्दोलन गरिरहेका छन्। नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामासँगै अस्पतालको स्वास्थ्य सेवा थप प्रभावित हुने देखिएको छ।

civil hospital
Hams Hospitals