१ अर्ब ८९ करोडको हुण्डी कारोबारमा सीआईबीको ठूलो कारबाही, काठमाडौंबाट एक पक्राउ

129
shares

काठमाडौं । करिब १ अर्ब ८९ करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौं महानगर क्षेत्रको नागार्जुन नगरपालिका–८, बनस्थली बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्। उनलाई सीआईबीको टोलीले बनस्थलीबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार केही व्यक्तिले संगठित रूपमा हुण्डी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विस्तृत विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी हुण्डीमार्फत १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हुण्डी जस्तो गैरकानुनी वित्तीय कारोबारले राज्यको राजस्व प्रणाली, वैदेशिक मुद्रा व्यवस्थापन र औपचारिक बैंकिङ प्रणालीलाई गम्भीर असर पार्ने भएकाले सीआईबीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिएर रिजालमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले जनाएको छ।

civil hospital
Hams Hospitals