ज्योति विकास बैंकको बदमाशीः रोक्का रहेको जग्गा नेताको नाममा पास

195
shares

 

काठमाडौं । काठमाडौं जिल्ला अदालतको अन्तरिम आदेश हुँदाहुँदै रोक्का रहेको करोडौँ रुपैयाँ मूल्यको घरजग्गा लिलामी गरी काँग्रेस नेता बहादुरसिंह लामाको नाममा पास गरिएको खुलासा भएको छ । उक्त घटनापछि न्याय माग्दै उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी पूर्व प्रहरी हवल्दार तथा लोकदोहोरी गायिका सरिता कार्की विगत एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेकी छन् ।

कार्कीले ज्योति विकास बैंकका तत्कालीन तथा वर्तमान जिम्मेवार अधिकारी, बैंकको ऋण असुली शाखा, मालपोत कार्यालय तथा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा बीच मिलेमतो भएको आरोप लगाएकी छिन् । दोषीलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरेकी छन् ।

अदालतले बिक्री, नामसारी तथा हक हस्तान्तरण गर्न रोक लगाएको जग्गा बैंकले गैरकानुनी रूपमा लिलामी गरेर बहादुरसिंह लामाको नाममा पास गरिदिएको प्रमाणसहित उनी धर्नामा बसेकी हुन् ।कार्कीका अनुसार करिब पाँच वर्षअघि काठमाडौंको तारकेश्वर नगरपालिका–काभ्रेस्थली, जितपुर फेदीस्थित जग्गा खरिद गर्ने उद्देश्यले उनले भैरवी रियल स्टेटकी सञ्चालक उमामाया तामाङलाई ५७ लाख ३० हजार रुपैयाँ बुझाएकी थिइन् ।

उक्त जग्गा उमामाया तामाङ र गजेन्द्र छन्त्यालको संयुक्त नाममा दर्ता रहेको थियो । आनाको ११ लाख रुपैयाँका दरले ६ आना जग्गा बिक्री गर्ने सहमति भएको थियो । तर पटक–पटक आग्रह गर्दा पनि जग्गा पास गरिएन । पछि सोही जग्गा देखाएर अन्य व्यक्तिहरूसँग समेत रकम उठाइएको जानकारी पाएपछि आफू ठगिएको महसुस भएको कार्की बताउँछिन् ।

दबाबपछि उमामायाले ज्योति विकास बैंकको नेपालटार शाखास्थित खाताबाट २०७८ फागुन २६ गते २७ लाख रुपैयाँ र २०७८ चैत १२ गते थप २७ लाख रुपैयाँ गरी जम्मा ५४ लाख रुपैयाँ बराबरका दुई वटा चेक दिएकी थिइन् । तर दुवै चेक बैंकमा सटहीमा जाँदा पर्याप्त मौज्दात नभएको भन्दै अनादर भयो ।चेक बाउन्स भएपछि कार्कीले अदालतमा मुद्दा दायर गरिन् । अदालतले उनको दाबीलाई स्वीकार गर्दै ५४ लाख रुपैयाँ, कानुनबमोजिमको ब्याज तथा १० प्रतिशत क्षतिपूर्तिसहित रकम भुक्तानी गर्न आदेश दिएको छ ।

यति मात्र होइन, अदालतले सम्बन्धित घरजग्गा बिक्री वा हक हस्तान्तरण नगर्नका लागि मालपोत कार्यालयलाई रोक्का राख्न निर्देशन दिएको थियो । साथै बैंकलाई पनि कर्जा असुलीबाट प्राप्त हुने रकममध्ये कार्कीले पाउनुपर्ने रकम सुरक्षित राख्न पत्राचार गरिएको थियो । उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको पनि कार्कीको भनाइ छ ।अदालतले रोक्का गरेको जग्गा नै ज्योति विकास बैंकले कर्जा असुलीको नाममा लिलामी प्रक्रिया अघि बढायो । अझ अचम्मको कुरा, उक्त जग्गा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले ४५ लाख ५० हजार रुपैयाँमा लिलाम सकार गरी आफ्नो नाममा पास गराए ।

कार्कीको दाबीअनुसार उक्त जग्गाको बजार मूल्य २ करोड रुपैयाँभन्दा बढी छ । ‘अदालतको आदेश हुँदाहुँदै रोक्का रहेको जग्गा कसरी लिलामी भयो ? रोक्का फुकुवा नभई मालपोतले नामसारी कसरी गरिदियो ?’ यही प्रश्न अहिले कार्कीको छ ।ज्योति विकास बैंकको नेपालटार शाखाका तत्कालीन प्रमुखले आफूलाई पटक–पटक जग्गाधनीले पैसा तिर्छु भनेका छन्, अहिले लिलामी हुँदैन भन्दै आश्वासन दिएको पनि कार्कीको भनाइ छ ।

त्यसपछि लिलामी गर्ने अवस्था आएमा सूचना दिने तथा राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्ने भनिएको थियो । तर पछि आफूलाई कुनै जानकारी नदिई अर्को पत्रिकामा सूचना प्रकाशित गरेर चुपचाप लिलामी प्रक्रिया सम्पन्न गरिएको उनको आरोप छ ।

‘हामी अदालतको आदेश कार्यान्वयन हुन्छ भन्ने विश्वासमा बस्यौँ । तर बैंकले भित्रभित्रै सबै प्रक्रिया सकेर हाम्रो सम्पत्ति हडपियो ।’ उनले भनिन् ।कार्कीले ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ऋण असुली विभाग प्रमुख विकास रानाभाटलाई भेट्न धेरै प्रयास गरिन् । तर, जिम्मेवारी पन्छाउँदै एकले अर्कातिर पठाउने काम मात्र भएको उनको आरोप छ । नेपालटार शाखाका तत्कालीन प्रमुख जागिर छाडेर अर्को बैंकमा गएकाले थप समस्या भएको छ ।

प्रहरी सेवामा झण्डै १७ वर्ष बिताएकी सरिता कार्कीले हवल्दार पदबाट अवकाश लिएर दुबई प्रहरीमा समेत करिब ६ वर्ष काम गरिन् ।त्यससँगै उनी लोकदोहोरी क्षेत्रमा पनि सक्रिय रहिन् । गायक खेम सेञ्चुरीसँग गाएको रुमाल बैना, झिल्के ड्राइभर, मुख छोप्यौ लाजैले लगायतका गीतले उनलाई लोकप्रिय बनाएका थिए । तर अहिले भने आफ्नै सम्पत्ति जोगाउन नसकेर सडकमा धर्ना बस्नुपरेको छ ।

‘मैले जीवनभर इमानदारीपूर्वक सेवा गरेँ । विदेशमा समेत काम गरेर कमाएको पैसा लगानी गरेँ । आज बैंक, मालपोत र राजनीतिक पहुँच भएका व्यक्तिहरूको मिलेमतोका कारण सर्वस्व गुमाएर माइतीघरमा न्याय माग्न बाध्य भएकी छु,’– उनले भनिन् ।कार्कीले नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था मन्त्रालय तथा सम्बन्धित निकायसँग सम्पूर्ण प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।

 

                                                                                                                      

civil hospital
Hams Hospitals