६५% दरबन्दी कटौतीपछि जलस्रोत विभागमा विद्रोह, १६७ सब-इन्जिनियर फाजिलमा
वि.सं.२०८३ साउन २१ बिहीवार
shares
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाको नाममा ठूलो संख्यामा दरबन्दी कटौती गरिएपछि फाजिलमा पारिएका सब-इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत कर्मचारीका अनुसार विभागमा ६५ प्रतिशत दरबन्दी कटौती गरिँदा १६७ जना सब-इन्जिनियर फाजिलमा परेका छन्। आफूहरू ना.सु. सरहका स्थायी कर्मचारी हुँदाहुँदै पनि कुनै स्पष्ट व्यवस्थापनबिना फाजिलमा राखिएको भन्दै उनीहरूले सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
यस निर्णयले कर्मचारीको भविष्य अन्योलमा परेको, कार्यक्षमता र मनोबलमा गम्भीर असर परेको तथा राज्यले स्थायी कर्मचारीमाथि नै अन्याय गरेको उनीहरूको आरोप छ।
यही माग राख्दै सब-इन्जिनियरहरू चार दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा निरन्तर धर्ना दिइरहेका छन्। आन्दोलन थप चर्किन सक्ने संकेतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज आन्दोलनरत कर्मचारीका प्रतिनिधिलाई छलफलका लागि बोलाएका छन्।
वार्ताबाट ठोस निष्कर्ष ननिस्किए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी आन्दोलनरत कर्मचारीहरूले दिएका छन्।





























