किसान लक्षित कार्यक्रममै भ्रष्टाचार, कार्यालय प्रमुख र चालकविरुद्ध अख्तियारको मुद्दा
वि.सं.२०८३ साउन २१ बिहीवार
shares
काठमाडौं । भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा २० प्रतिशत कमिसन (घुस) असुलेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार खोप कार्यक्रम सम्पन्न गरेका भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने बहानामा दुवैले मिलेमतोमा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत घुस माग्ने गरेका थिए।
उक्त उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार कार्यालय प्रमुख दासले आफ्नो पदको दुरुपयोग गर्दै चालक यादवमार्फत घुस असुल्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही आधारमा दुवैविरुद्ध बिगोबमोजिम जरिवाना र सजायको मागदाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





























