Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप : प्रमुख प्रशासकीय अधिकृत राउतसँग मन्त्रालयले माग्यो ३ दिने स्पष्टीकरण

261
shares

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा सेवाग्राही ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।

गाउँपालिकाको कार्यालयमा सेवा लिन पुगेका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारलाई लिएर विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो परेपछि मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै राउतसँग स्पष्टीकरण मागेको हो।

मन्त्रालयले सार्वजनिक पदमा बसेका कर्मचारीबाट सेवाग्राहीप्रति मर्यादित, सम्मानजनक र जिम्मेवार व्यवहार अपेक्षित हुने स्पष्ट गर्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार किन हुन गयो भन्ने विषयमा लिखित जवाफ मागेको छ।

मन्त्रालयको पत्रअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिइएको छ।

सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवारीमा रहेका कर्मचारीबाटै सेवाग्राहीमाथि अपमानजनक वा अमर्यादित व्यवहार भएको गुनासो सार्वजनिक भएपछि मन्त्रालयको यो कदमलाई प्रशासनिक जवाफदेहितातर्फको कडा संकेतका रूपमा हेरिएको छ।

अब राउतले मन्त्रालयसमक्ष पेश गर्ने स्पष्टीकरणपछि घटनामा थप छानबिन वा आवश्यक प्रशासनिक कारबाही अघि बढ्छ वा बढ्दैन भन्ने विषय चासोको विषय बनेको छ।

सार्वजनिक पद जिम्मेवारी हो, विशेषाधिकार होइन। सेवाग्राहीमाथि गरिने व्यवहारले कर्मचारीको मात्र होइन, समग्र सार्वजनिक प्रशासनको चरित्रसमेत प्रतिबिम्बित गर्छ।

civil hospital
Hams Hospitals