आरोपीले बयान दिने हो, प्रवचन दिने होइन’—सांसद सुनारको आइजीपी कार्कीमाथि कडा प्रहार
वि.सं.२०८३ साउन २९ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि कडा प्रहार गरेका छन् । गम्भीर आरोप लागेपछि त्यसको तथ्यगत जवाफ दिनुपर्ने व्यक्तिले उल्टै प्रवचन दिएको भन्दै सुनारले कार्कीको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले भ्रष्टाचारको गम्भीर आरोप लागेपछि आईजीपी कार्कीलाई तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने माग गरेका थिए । त्यसको जवाफमा कार्कीले सुनारको धारणा ‘पाषाणयुगीन सोच भएका शासक’को मानसिकतासँग तुलना गर्दै आफूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी प्रमाणबिनै आरोप लगाइएको भन्दै आपत्ति जनाएपछि बैठकमा वातावरण थप तनावपूर्ण बनेको थियो । सुनारले बैठक नै बहिष्कार गरेर बाहिरिएपछि अन्य दलका सांसदसँगै रास्वपाकै सांसद गोविन्द पन्थीलगायतले समेत उनको शैलीको आलोचना गरेका थिए ।
तर, त्यसको जवाफमा सामाजिक सञ्जालमार्फत सुनारले आफ्नो अडान झन् कडा बनाएका छन् ।
‘म राष्ट्रसेवक, प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु,’ भन्दै सुनारले गम्भीर आरोपको सामना गरिरहेका व्यक्तिले आरोपको तथ्यगत जवाफ दिनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘गरिबका छोराछोरी, म्यादी, सिपाही, हवलदार भएका छन्, उनीहरूका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ । मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन । जुत्ता लगाउने हो, खाने हैन ।’
सुनारले राज्यको आर्थिक अवस्थामाथि समेत प्रश्न उठाउँदै सार्वजनिक लेखा समितिको भूमिकालाई कमजोर बनाउने कुनै प्रयास स्वीकार्य नहुने संकेत गरेका छन् ।
उनका अनुसार राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको अवस्थामा भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा गम्भीरतापूर्वक प्रश्न उठाउनु जनप्रतिनिधिको दायित्व हो ।
‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ । हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने धेरै तितो बोल्न बाँकी छ,’ सुनारले लेखेका छन् ।
उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा राजनीतिक तथा संस्थागत दबाब आए पनि पछि नहट्ने चेतावनीसमेत दिएका छन् ।
‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्,’ उनको भनाइ छ ।
सुनारले प्रहरीको बर्दी र फुली देखाएर दबाब वा धम्की दिएर विषयलाई टुंग्याउन नसकिने दाबी गर्दै ‘हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय होइन’ भन्दै थप छानबिन र जवाफदेहिताको माग दोहोर्याएका छन् ।
यसैबीच, विवादित अभिव्यक्तिलाई लिएर रास्वपाका नेता–सांसद तथा सभामुखले समेत सुनारलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन सुझाव दिएको बताइएको छ । तर, सुनारको पछिल्लो अभिव्यक्तिले सार्वजनिक लेखा समितिमा उठेको विवाद तत्कालै साम्य हुनेभन्दा झन् चर्किने संकेत गरेको छ ।
आईजीपीमाथि गम्भीर आरोप, जवाफमा ‘पाषाणयुगीन सोच’को टिप्पणी र त्यसपछि सांसद सुनारको आक्रामक प्रतिवाद—यो प्रकरणले प्रहरी नेतृत्व, राजनीतिक जवाफदेहिता र सार्वजनिक लेखा समितिको भूमिकामाथि नयाँ बहस जन्माएको छ।
सांसद खगेन्द्र सुनारका शृङ्खलाबद्ध विवादित अभिव्यक्तिः घट्दैछ पदीय मर्यादा




























