Banner ad for NADA AUTO SHOW -2026

आरोपीको बयानको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

186
shares

 

बारा । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय बारामै दरबन्दी रहेका प्रहरी हवल्दार कुमार विक रहेका छन्। अनुसन्धानका क्रममा प्रहरीले आरोपीसँग सोधपुछ गरेका विषयको भिडियो सोमबार बिहान एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा भिडियो चुहावटमा प्रहरीकै संलग्नता खुलेको हो।

प्रहरीका अनुसार हवल्दार विकले उक्त भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएका थिए। त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बालिकामाथिको जघन्य अपराधका आरोपीको बयान सार्वजनिक गरी गोपनीयताको अधिकार उल्लङ्घन गरेको आरोपमा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

यस घटनाले प्रहरी अनुसन्धानको गोपनीयता र संवेदनशील मुद्दामा प्रहरीकै जिम्मेवार अधिकारीबाट भएको भनिएको लापरवाहीमाथि गम्भीर प्रश्न उठाएको छ। अझ, नाबालक आरोपीको बयानसम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रणाली र संवेदनशील प्रमाणको सुरक्षामाथि समेत प्रश्न उठेको छ।

गत साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी घरबाटै बेपत्ता भएकी थिइन्। लामो समयसम्म बालिका नभेटिएपछि उनकी आमा मानमती चौधरीले सिमरा र पथलैया प्रहरीलाई खबर गरेकी थिइन्। खोजीका क्रममा तीन दिनपछि बालिकाको शव फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा एक १६ वर्षीय किशोर बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको खुलेको थियो। प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर, अनुसन्धानका क्रममा आरोपी किशोरले घटनाबारे बयान दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीमाथि नै आलोचना चर्किएको थियो।

भिडियो सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले समेत चासो देखाएका छन्। घटनामा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि समेत छानबिन अघि बढाइएको जनाइएको छ।

यस्तै, भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र घटनामा संलग्न अन्य प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गम्भीर अपराधको अनुसन्धानमा संलग्न प्रहरीबाटै आरोपीको बयान सार्वजनिक भएको घटनाले प्रहरीको गोपनीयता कायम गर्ने क्षमता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।

civil hospital
Hams Hospitals