Banner ad for NADA AUTO SHOW -2026

कृषि मन्त्रालयको गेटमै व्यवसायीको आन्दोलन, ‘भेट्छु’ भन्दै मन्त्रीले बेवास्ता गरेको आरोप

159
shares

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरू आन्दोलित भएका छन्। आफ्ना मागबारे छलफल गर्न पटक–पटक समय माग्दा पनि मन्त्री गिता चौधरीले ‘भेट्छु’ भन्दै बोलाएर अन्तिम समयमा भेट नदिएको भन्दै व्यवसायीहरू मन्त्रालयको गेटमै धर्नामा बसेका हुन्।

व्यवसायीहरूले मन्त्रीसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या राख्न खोजे पनि लामो समयसम्म भेटको अवसर नदिइएको आरोप लगाएका छन्। माग सुनुवाइ नगरेपछि बाध्य भएर मन्त्रालयमै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

आन्दोलनको अर्को मुख्य कारण पशु स्वास्थ्य तथा पशुसेवा व्यवसाय परिषद् र नेपाल पशु चिकित्सा परिषद्लाई एउटै संरचनामा गाभ्ने प्रयास भएको व्यवसायीहरूको दाबी छ। आफूहरूको पेशागत अधिकार, संरचना र भविष्यमा प्रत्यक्ष असर पर्ने निर्णय आफूहरूसँग पर्याप्त छलफल नगरी अघि बढाउन खोजिएको भन्दै उनीहरूले त्यसको विरोध गरेका छन्।

व्यवसायीहरूले सरकारले तत्काल वार्ता र संवादमार्फत समस्या समाधान नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। उनीहरूले आजै संघर्ष समिति गठन गरी देशभरका पशु स्वास्थ्य तथा पशुसेवा व्यवसाय ठप्प पार्ने र सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन्।

मन्त्रालयको गेटमै आन्दोलन चर्किएपछि कृषि मन्त्रालय र व्यवसायीबीचको विवाद थप सतहमा आएको छ। व्यवसायीहरूले आफूहरूका जायज माग सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने स्पष्ट पारेका छन्।व्यवसायीहरूको चेतावनी छ—‘भेटेर कुरा नसुन्ने हो भने अब देशभर सेवा रोकिन्छ।’

civil hospital
Hams Hospitals