Banner ad for NADA AUTO SHOW -2026

भोटेकोशी बाढीपीडितका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को एक लाख दुई हजार सहयोग

1.3K
shares

 

 

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, तिपुरेश्वर, काठमाडौंका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २ हजार सहयोग रकम जम्मा गरेका छन्।

 

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै ठूलो संख्यामा पशुचौपायासमेत प्रभावित तथा घाइते भएका छन्। विपद्को समयमा मानवीय उद्धारसँगै पशुपन्छीको स्वास्थ्य तथा सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएपछि परिषद्ले आर्थिक सहयोगसँगै प्रत्यक्ष रूपमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको हो।

 

परिषद्का अनुसार बाढीबाट प्रभावित तथा घाइते पशुहरूको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको टोली रसुवा, धादिङ र नुवाकोटतर्फ जाने तयारीमा छ। बाढी प्रभावित क्षेत्रमा पुगेर घाइते तथा बिरामी पशुको स्वास्थ्य परीक्षण, उपचार र आवश्यक औषधि वितरण गर्ने परिषद्को योजना छ।

 

बाढी तथा पहिरोका कारण पशुचौपायाको बासस्थान, आहार तथा स्वास्थ्य सेवामा समेत समस्या उत्पन्न भएकाले तत्कालीन उपचारका साथै आवश्यक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले टोली परिचालन गर्न लागिएको परिषद्ले जनाएको छ।

 

परिषद्का पदाधिकारी तथा कर्मचारीहरूले विपद्को समयमा राज्यको राहत प्रयासमा साथ दिन आर्थिक सहयोग गरेको र पशु स्वास्थ्य सेवामा देखिएको आवश्यकता सम्बोधन गर्न प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुग्ने निर्णय गरेको बताएका छन्।

 

परिषद्को यो पहलले बाढीपीडित परिवारका पशुचौपायाको उपचार तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्राकृतिक विपद्का कारण पशु स्वास्थ्यमा परेको असरलाई समेत राहत तथा पुनःस्थापनाको अभिन्न हिस्साका रूपमा सम्बोधन गर्नुपर्ने परिषद्को धारणा छ।

civil hospital
Hams Hospitals