Banner ad for NADA AUTO SHOW -2026

चीनले तिब्बतमा पहिरोपछि जारी उद्धार कार्य रोक्यो, अस्थायी ताल फुट्ने जोखिम

117
shares

बेइजिङ (एजेन्सी)। चीनको तिब्बतस्थित नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी पहिरो र त्यसबाट उत्पन्न बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तत्कालका लागि स्थगित गरिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रानले नदी थुनेर बनेको अस्थायी तालमा पानीको मात्रा बढ्दै गएपछि पुनः ठूलो बाढी आउन सक्ने जोखिम बढेको हो। उक्त जोखिमका कारण उद्धारमा खटिएका सबै टोलीलाई सुरक्षित स्थानमा फिर्ता बोलाइएको छ।

सीसीटीभीले शुक्रबार उद्धार टोलीहरूलाई हालकै सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको जनाएको छ। घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीलाई समेत सम्भावित बाढीबाट जोगिन करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

चिनियाँ अधिकारीका अनुसार पहिरोबाट बनेको अस्थायी तालमा अहिले २५ लाख घनमिटरभन्दा बढी पानी जम्मा भइसकेको छ। लगातार वर्षा र माथिल्लो क्षेत्रबाट आउने पानीका कारण आगामी केही दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा थपिन सक्ने अनुमान गरिएको छ। यसले प्राकृतिक बाँध फुटेर पुनः ठूलो बाढी आउन सक्ने खतरा बढाएको छ।

यसअघि बुधबार तिब्बतको ग्यिरोङ क्षेत्रमा आएको ठूलो पहिरो र त्यसपछि आएको बाढीले नेपालतर्फ समेत व्यापक जनधनको क्षति गरेको थियो। चीनको तिब्बत क्षेत्रमा मात्रै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ। पछिल्लो विवरणअनुसार चीनले तिब्बततर्फ ५५८ जना बेपत्ता रहेको जनाएको छ, जसमा २६० जना विदेशी नागरिक छन्।

प्रतिकूल मौसम, भौगोलिक कठिनाइ तथा पुनः बाढी, पहिरो र हिमपहिरोको जोखिमका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। चिनियाँ अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै सम्भावित नयाँ बाढीको जोखिम घटाउन प्राविधिक टोली परिचालन गरेका छन्।

यसबीच नेपाल र चीन दुवैतर्फ नदी तथा अस्थायी तालको जलस्तर निरन्तर निगरानी भइरहेको छ। अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

civil hospital
Hams Hospitals