बाढीले कृष्णभीरमा पृथ्वी राजमार्ग बगायो, काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध
वि.सं.२०८३ भदौ १४ आइतवार
shares
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–मुग्लिन सडकखण्डको धादिङस्थित कृष्णभीरमा बाढीले सडक कटान गरेपछि यातायात सञ्चालन रोकिएको छ।
भोटेकोशी नदीमा आइतबार बिहान आएको बाढीको तीव्र बहावले बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडकको तल्लो भाग कटान गरेको हो। बाढीका कारण सडकको ठूलो हिस्सा भासिएपछि उक्त क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ।
धादिङ प्रहरीले सूचना जारी गर्दै रसुवा जिल्लाबाट एक्कासी आएको बाढीको बहावका कारण कृष्णभीरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम बढेको जनाएको छ। सम्भावित दुर्घटना रोक्न उक्त सडकखण्डमा सवारी साधनको आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ जाने तथा मुग्लिन हुँदै विभिन्न जिल्ला जाने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।
लगातारको वर्षा र नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक कटानको जोखिमसमेत बढेको छ।






























