Banner ad for NADA AUTO SHOW -2026

फोकटको सल्लाह’ लेखेको भोलिपल्टै सचिव निरौलालाई टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारी!

282
shares

काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारीसहित काजमा खटाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई टिमुरे पठाउने निर्णय गरेको हो।

रोचक संयोग के छ भने, निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई ‘फोकटको सल्लाह’ भन्दै लामो सुझाव दिएका थिए। कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा काम गरेको अनुभव उल्लेख गर्दै उनले विपद्का बेला शव व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका थिए।

उनले विशेषगरी शव गाड्नु उपयुक्त नहुने धारणा राखेका थिए। मृतकलाई आफ्नो धर्म, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क गर्दै उनले शव व्यवस्थापनसम्बन्धी सरकारी अभ्यासमाथि प्रश्न उठाएका थिए।

तर, उक्त धारणा सार्वजनिक गरेको भोलिपल्टै उनलाई रसुवाको टिमुरेमा शव व्यवस्थापनका लागि खटाउने निर्णय भएको छ।

यस घटनाले कर्मचारी वृत्तमा समेत विभिन्न प्रश्न जन्माएको छ—निरौलाको फेसबुक अभिव्यक्ति र उनलाई टिमुरे खटाउने निर्णयबीच कुनै सम्बन्ध छ कि छैन? वा विपद्को अवस्थालाई मध्यनजर गर्दै उनको अनुभव र दक्षतालाई उपयोग गर्न मात्रै जिम्मेवारी दिइएको हो?

यद्यपि, मन्त्रालयको निर्णयमा उनको फेसबुक अभिव्यक्तिलाई आधार बनाइएको उल्लेख छैन। तर सार्वजनिक रूपमा सरकारलाई सुझाव दिएको भोलिपल्टै त्यही विषयसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीमा काजमा खटाइएपछि घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ।

निरौलाले आफूले शनिबार लेखेको उक्त फेसबुक स्टाटस भने पछि हटाइसकेका छन्।

civil hospital
Hams Hospitals