कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी, १०० मिटर सडक चिरियो
सिंहदरबार न्यूज
वि.सं.२०८३ भदौ १५ सोमवार
216 shares
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरेपछि तत्काल सडक पुनः सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले वैकल्पिक मार्गको अध्ययन अघि बढाइएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर छ।कृष्णभीरमा सडकको करिब १०० मिटर भाग भासिनुका साथै चिरिएको छ। जोखिम बढेपछि पैदलयात्रासमेत रोकिएको छ। तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको मिश्रले बताए। उनका अनुसार विषय विज्ञहरूले वैकल्पिक मार्गसहित सडकको अवस्थाबारे अध्ययन गरिरहेका छन्।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले नदीको कटानका कारण सडकको भित्तासमेत चर्किएकाले तत्काल सडक बनाउन सम्भव नभएको बताइन्।“खोलाले कटान गरिरहेको छ। कति झर्छ, एकीन भन्न सकिने अवस्था छैन,” अधिकारीले भनिन्।उनका अनुसार सडकको भित्तामाथिको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको छ। विषय विज्ञबाट विस्तृत अध्ययन भएपछि सडक कसरी सञ्चालनमा ल्याउने भन्ने टुंगो लाग्नेछ।
भित्तो काटेर सडक विस्तार गर्न पनि समस्या रहेको अधिकारीले बताइन्। सडकको माथिल्लो भागमा बस्ती रहेकाले डाँडा काट्न सम्भव नभएको उनको भनाइ छ।“भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ,” उनले भनिन्।
पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा तथा गल्छी–धादिङको सुनौलो बजार–धादिङबेँसी–सल्यानटार–गोरखा हुँदै जाने मार्गको अध्ययन भइरहेको आयोजनाले जनाएको छ।त्यस्तै, पृथ्वी राजमार्गबाट त्रिशूली नदी पार गरी तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेका सडक प्रयोग गरेर गन्तव्यसम्म पुग्न सकिने सम्भावित मार्गको समेत खोजी भइरहेको छ।
तत्काल सामान्य मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने सडक पहिचान गरी वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याउने तयारी भइरहेको अधिकारीले बताइन्।पूर्वबाट आएका सवारीसाधनलाई मकवानपुरतर्फका सडक प्रयोग गराउन सकिने तथा पश्चिम र पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।
पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक हो। यसै मार्गबाट ग्यासका बुलेटलगायत ठूला तथा अत्यावश्यक मालवाहक सवारीसाधनसमेत काठमाडौं भित्रिने गरेका छन्।आयोजनाका अनुसार यस सडकखण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। कृष्णभीरमा सडक अवरुद्ध हुँदा राजधानीको आपूर्ति प्रणालीदेखि देशका विभिन्न भागबीचको यातायातमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।
केही वर्षअघिसम्म कृष्णभीरमा पहिरो र सडक कटानका कारण पटक–पटक समस्या हुने गरेको थियो। सडक मर्मतसम्भार तथा पहिरो रोकथामका काम गरिएपछि पछिल्ला वर्षहरूमा भने यहाँ ठूलो समस्या देखिएको थिएन। अहिले त्रिशूली नदीको निरन्तर कटानका कारण पुनः जोखिम बढेको हो।