जलविद्युत आयोजनाका टनेलमा उद्धार तीव्र : २०० मिटरसम्म पुग्यो संयुक्त टोली, सेनाका ९,२०० भन्दा बढी जनशक्ति परिचालन
वि.सं.२०८३ भदौ १६ मंगलवार
shares
काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १६ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ।
बाढीपछि विभिन्न जलविद्युत आयोजनाका टनेलमा फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोको टनेलमा टोली करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१को टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको सेनाले जनाएको छ।
त्रिशूली–३ ए आयोजनामा टनेल हेड फेला परेको छ। कम्प्रेसरबाट टनेलभित्र हावा पठाउने तथा पानी निकाल्ने काम भइरहेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने रक ब्रेकरमार्फत टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुङ्गा फुटाउने काम भइरहेको छ।
त्यस्तै, त्रिशूली–३ बी आयोजनामा विज्ञसहितको फौज परिचालन गरी टनेलमा प्रवेश गर्ने बाटो पहिचान गरिएको छ। प्रवेशद्वारतर्फ एक्स्काभेटर प्रयोग गरेर खन्ने काम जारी रहेको सेनाले जनाएको छ।
बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न हाइड्रोपावर क्षेत्रबाट २७९ जनालाई जीवित उद्धार गरिएको थियो। रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ एबाट २२१ जना, माथिल्लो त्रिशूली–३ बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
यसैबीच, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। सेनाले जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने, घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रमण नियन्त्रणका लागि सेनाले धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल–४ तथा मुलपानी सामुदायिक वन लगायतका क्षेत्रमा डिसइन्फेक्सनसमेत गरेको छ। अन्य प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी डिसइन्फेक्सन गर्ने तयारी भइरहेको सेनाले जनाएको छ।



























