तीन दिनअघि मात्रै रसुवा पुगेका भन्सार अधिकृत नहकुल शर्मा बाढीमा परेर मृत्यु, शव गोरखामा फेला
वि.सं.२०८३ भदौ १७ बुधवार
shares
रसुवा । रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा सरुवा भएर तीन दिनअघि मात्रै कार्यभार सम्हालेका नहकुल शर्माको विनाशकारी बाढीमा परेर मृत्यु भएको छ।
बाँकेको कोहलपुर नगरपालिका–११, गोलपार्क स्थायी घर भएका शर्मा रसुवा भन्सार कार्यालयको कार्यक्षेत्रमा आएको बाढीमा परेर बेपत्ता भएका थिए। बाढीको तीव्र बहावले बगाएर बेपत्ता भएका शर्माको शव गोरखामा फेला परेको हो।
नयाँ जिम्मेवारी सम्हाल्न रसुवा पुगेको केही दिनमै प्राकृतिक विपत्तिमा परी शर्माको ज्यान गएको घटनाले कर्मचारी वृत्तमा समेत दुःख र शोक छाएको छ।
शर्माको शव गोरखामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।
तीन दिनअघि मात्रै नयाँ कार्यस्थल पुगेका एक कर्मचारीको बाढीमा परी ज्यान गएको यो घटनाले रसुवामा आएको बाढीको भयावहता थप स्पष्ट पारेको छ।





























