विपद् पीडितको साथमा जीवन विज्ञान : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
वि.सं.२०८३ भदौ १७ बुधवार
shares
काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले जीवन विज्ञान परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
जीवन विज्ञान परिवारका तर्फबाट श्रद्धेय भानु गुरुले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।
बाढी तथा अन्य प्राकृतिक विपद्ले भौतिक क्षतिसँगै प्रभावित नागरिकको मन, भावना र चेतनामा समेत गहिरो असर पार्ने भएकाले राहतसँगै मानसिक तथा भावनात्मक सहयोग आवश्यक रहेको जीवन विज्ञानले जनाएको छ।
जीवन विज्ञानले विपद्मा परेका नागरिकको मनोबल, आत्मविश्वास र आन्तरिक शान्ति अभिवृद्धि गर्न मनोपरामर्श, स्वजागरण तथा जीवन विज्ञानका विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ।
जीवन विज्ञान परिवारले रसुवा, नुवाकोटलगायत देशभरका विपद्पीडित नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति गराउँदै पुनःउत्थानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जीवन विज्ञानको सन्देशमा भनिएको छ,“तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको पीडामा जीवन विज्ञान साथमा छ। तपाईंको पुनःउत्थानमा हाम्रो सहकार्य रहनेछ।”




























