मनकामना केबुलकारद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ५० लाख सहयोग
वि.सं.२०८३ भदौ १७ बुधवार
shares
काठमाडौं । मनकामना केबुलकारले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
हालै विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबानबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबुलकारले उक्त रकम सहयोग गरेको हो।
मनकामना केबुलकारले विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गरेको जनाएको छ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। कोषमार्फत प्राप्त रकम विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिनेछ।
विपद्को समयमा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त यस्तो सहयोगले राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।




























