नेशनल लघुवित्तद्वारा भोटेकोशी बाढीपीडितका लागि ७० लाख सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७० लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थाले विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जनाएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।
संस्थाले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको पीडा र संकटप्रति ऐक्यबद्धता जनाएको छ।
संस्थाले प्राकृतिक विपद्को समयमा सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएको छ। राहत तथा पुनःस्थापनाका लागि गरिने सामूहिक प्रयासले विपद्बाट प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन महत्वपूर्ण सहयोग पुग्ने संस्थाको विश्वास छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र व्यक्तिहरूले सहयोग घोषणा गर्दै आएका छन्। यसै क्रममा नेशनल लघुवित्तको ७० लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
संस्थाले विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।





























