लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध चरणबद्ध आन्दोलनमा जाने पत्रकार महासंघको तयारी
सिंहदरबार न्यूज
वि.सं.२०८३ भदौ २० शनिवार
174 shares
काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय तत्काल फिर्ता गराउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले चरणबद्ध आन्दोलनको तयारी थालेको छ।
महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले सरकारलाई निर्णय पुनर्विचार गर्न दबाब दिन तत्काल संवाद र राजनीतिक भेटघाट अघि बढाउने तथा एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा जाने प्रस्ताव गरेको हो।
शनिबार बिहान बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै नेपाल पत्रकार महासंघलाई विभिन्न सातबुँदे सुझाव दिएको छ।
कार्यदलले संशोधित कार्यविधिअनुसार कटौती गरिएको रकममा लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्न महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ।
सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद, लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्कमा गरिएको ठूलो कटौती तत्काल सच्याउनुपर्ने कार्यदलको निष्कर्ष छ।
समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र राजनीतिक दलका नेताहरूसँग तत्काल भेटघाट गरी दबाब सिर्जना गर्ने निर्णयसमेत कार्यदलले गरेको छ।
कार्यदलले आगामी एक सातासम्म संवाद, छलफल र परामर्शमार्फत समस्या समाधानको प्रयास गर्ने र त्यस अवधिमा माग सम्बोधन नभए आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने प्रस्ताव गरेको छ।
छापा माध्यमहरू पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौतीले विशेषगरी साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अस्तित्वमै थप चुनौती सिर्जना गरेको कार्यदलको ठहर छ।
कार्यदलले छापा माध्यमको संरक्षणलाई सञ्चारमाध्यमको व्यावसायिक विषयमा मात्र सीमित नगरी प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारसँग जोडिएको विषयका रूपमा लिनुपर्नेमा जोड दिएको छ।
सरकारको विज्ञापन नीतिमा समानता, पारदर्शिता र न्यायोचित वितरण प्रणाली कायम हुनुपर्ने भन्दै कार्यदलले सञ्चारमाध्यममाथि विभेदपूर्ण व्यवहार नगर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भदौ १९ गते छापा माध्यमका सम्पादक तथा प्रकाशकहरूसँग सुझाव संकलन तथा छलफल गरेपछि कार्यदल गठन गरेको थियो।
दवाडीको संयोजकत्वमा गठित कार्यदलमा डा. केशव देवकोटा, टंक कार्की, हेमराज सिलवाल, मुक्ति बास्तोला, विश्वराज किराँत, सीता पोखरेल, नृपेन्द्रलाल श्रेष्ठ, डिल्लीराम भट्टराई, पदमराज जोशी र कल्पना खड्का सदस्य रहेका छन्।
कार्यदलले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल पुनर्विचार गरी छापा माध्यमलाई आर्थिक संकटबाट जोगाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।
माग सम्बोधनमा ढिलाइ भए महासंघ काठमाडौं शाखाको नेतृत्वमा देशभरका छापा माध्यमलाई आन्दोलनमा सहभागी गराउँदै दबाबमूलक कार्यक्रम चरणबद्ध रूपमा अघि बढाउनुपर्ने सुझावसमेत कार्यदलले दिएको छ।