साउदीलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा
वि.सं.२०८३ भदौ २१ आइतवार
shares
काठमाडौं। नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्शन झाले ४४ तथा रोहित पौडेलले २४ रनमा अविजित रहँदै महत्वपूर्ण योगदान दिए। ईशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए।
साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए।
यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। आगामी खेलले नेपालको समूहमा अन्तिम स्थान निर्धारण गर्नेछ।
































