तातोपानी र रसुवा नाका बन्द भएपछि कोरला नाकामा चहलपहल, सुरक्षा चुनौती
वि.सं.२०८३ भदौ २३ मंगलवार
shares
काठमाडौं।रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरला नाकामा व्यवसायीको चहलपहल बढेको छ । तर, व्यापारिक गतिविधि बढेसँगै सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती पनि थपिएको छ ।
खुला सीमा, चोरीका वैकल्पिक मार्ग र पर्याप्त सुरक्षा संयन्त्रको अभावका कारण कोरला नाकामा विगतदेखि नै चोरी–तस्करी हुने गरेको व्यवसायी बताउँछन् । सुरुमा सीमित भन्सार कर्मचारीबाट सञ्चालन भएको नाकामा अहिले सशस्त्र प्रहरीको उपस्थिति रहे पनि चोरी–तस्करी नियन्त्रणका लागि छुट्टै प्रभावकारी टोली छैन ।
‘भन्सारका कर्मचारी मिलाउन सके सामान सजिलै नाका कट्छ’ भन्ने व्यवसायीको भनाइले पनि यहाँको निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ । केही समयअघि भन्सार प्रक्रिया पूरा नगरी आएका भनिएका करिब एक दर्जन मालवाहक गाडी सुराकीका आधारमा नियन्त्रणमा लिइए पनि पछि घटना सामसुम पारिएको दाबी गरिएको छ । प्रहरीका एक अधिकृतले पनि यस्तो घटना भएको स्वीकार गरेका छन् ।
यता नेपाल प्रहरीका प्रवक्ता भने चोरी निकासी नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताउँछन् ।
यसैबीच, रसुवा र तातोपानी नाका बन्द भएपछि केरुङमा रोकिएका फलफूलका कन्टेनरसमेत कोरला नाकातर्फ मोडिन थालेका छन् । दुई दिनमा फलफूल बोकेका १० वटा कन्टेनर भन्सार जाँचपास पूरा गरी नेपाल भित्रिएका छन् ।
मुस्ताङ भन्सार प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट पहिलोपटक ठूलो परिमाणमा फलफूल पैठारी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार दुई दिनमा ८७ हजार किलो स्याउसहित ड्रागन फ्रुट, आँप, नासपाती र एभोकाडो गरी एक लाख ४५ हजार ९५० किलो फलफूलको क्वारेन्टाइन जाँच गरिएको छ ।
व्यापारिक गतिविधि बढ्दै गएपछि कोरला नाकामा भन्सारसँगै सुरक्षा र क्वारेन्टाइन पूर्वाधार बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।






























