ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
वि.सं.२०८३ भदौ २५ बिहीवार
shares
Photo By: KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा मात्र ६० रनमा अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए । ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट हात पारे ।
यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो ।
नेपालको इनिङ्समा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे ।
त्यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५ र सन्दीप लामिछानेले ३ रन बनाए ।
ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट लिए । मुहम्मद इमरानले दुई तथा मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।
अब नेपालले उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । यूएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।
नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।






























