सडक ठेक्काको सूचना लुकाएर भ्रष्टाचार, धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा
वि.सं.२०८३ भदौ २५ बिहीवार
shares
काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित १० जनाविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका लागि ठेक्का आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी सूचना लुकाई मिलेमतोमा आफू निकट व्यक्तिलाई ठेक्का दिलाएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार आरोपितहरूले सडक निर्माणको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा सीमित हुने गरी सूचना प्रकाशन तथा प्रसारणमा अनियमितता गरेको र त्यसबाट सरकारी रकममा २६ लाख ६४ हजार ६२४ रुपैयाँ हानि पुर्याएको अनुसन्धानबाट देखिएको छ ।
मुद्दा दायर गरिएकामा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सिनियर अहेव उमेर साह, शिक्षा शाखा प्रमुख अनिलकुमार साहु, अमृत मिडिया प्रालिका प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुपका प्रधानसम्पादक बृजकुमार यादव, साइन कन्स्ट्रक्सनका प्रोप्राइटर विकासप्रसाद यादव, एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालिका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सबइन्जिनियर शुभाषकुमार महरा छन् ।
आयोगको दाबीअनुसार उनीहरूले गौरदाहा–लखौरी सडक निर्माणको ठेक्का सूचना लुकाउनेदेखि ठेक्का प्रक्रियामा मिलेमतो गरी निश्चित व्यक्तिलाई लाभ पुर्याउनेसम्मका कार्य गरेका थिए ।
ठेक्का प्रक्रियालाई प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनुपर्ने कानुनी व्यवस्थाविपरीत सूचना सीमित गराई सार्वजनिक स्रोतमा क्षति पुर्याएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले प्रतिवादीहरूबाट बिगो रकम २६ लाख ६४ हजार ६२४ रुपैयाँ असुल तथा जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
सरकारी निकायबाट सञ्चालन हुने विकास निर्माणका ठेक्कामा सूचना प्रकाशन, प्रतिस्पर्धा र छनोट प्रक्रियामै मिलेमतो गरी निश्चित व्यक्ति वा कम्पनीलाई लाभ पुर्याउने प्रवृत्तिमाथि अख्तियारले कारबाही अघि बढाएको यो घटनाले स्थानीय तहका सार्वजनिक खरिद प्रक्रियाको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ ।






























