सरकारी गाडी रोकिँदा आक्रोश, गरिब अस्पतालको ढोकामा रोकिँदा मौन : तनुजा पाण्डे
वि.सं.२०८३ भदौ २६ शुक्रवार
shares
काठमाडौं । जेनजी अभियन्ता तनुजा पाण्डेले सरकारी गाडीमा आफ्नी श्रीमती सवार रहेका बेला ट्राफिक प्रहरीले रोकेको घटनालाई लिएर राज्य नै जलाउन तम्सिनेहरू गरिब नागरिकको पीडामा भने मौन बस्ने गरेको भन्दै कडा प्रश्न उठाएकी छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत पहुँच र शक्तिका आधारमा राज्यको संवेदनशीलता फरक–फरक हुने प्रवृत्तिमाथि प्रश्न गरेकी हुन्।
उनले आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोक्दा राज्य नै जलाउन तम्सिने ‘महान् पुरुषहरू’ गरिब नागरिककी श्रीमती पैसा अभावका कारण अस्पतालको ढोकामै रोकिनुपर्ने अवस्थामा भने कहाँ हराउने गरेको भन्दै व्यंग्य गरेकी छन्।
‘आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए?’ पाण्डेले प्रश्न गरेकी छन्।
पाण्डेको प्रश्न केवल एउटा घटनामाथिको टिप्पणी नभई राज्यको व्यवहारमा देखिएको कथित वर्गीय विभेदप्रतिको असन्तुष्टिका रूपमा आएको देखिन्छ। पहुँच र प्रभाव भएका व्यक्तिको समस्या पर्दा तत्काल राज्यको संवेदनशीलता खोज्ने, तर सर्वसाधारणको पीडामा भने बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ।
उनले आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरूले गरिब नागरिकको पीडा देख्दा किन मौन बस्ने गरेको भन्दै प्रश्न गरेकी छन्।
‘आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू गरिबको पीडा देख्दा किन यति मौन?’ उनले भनेकी छन्।
पाण्डेले न्याय व्यवस्था व्यक्ति, वर्ग, आर्थिक हैसियत वा राजनीतिक तथा सामाजिक पहुँचका आधारमा फरक हुन नहुनेमा जोड दिएकी छन्।
‘न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन,’ उनको स्पष्ट धारणा छ।
उनको अभिव्यक्तिले राज्यको सेवा र न्यायमा समान पहुँचको प्रश्नसँगै शक्तिशाली र पहुँचवालाका लागि तत्काल सक्रिय हुने तर कमजोर तथा विपन्न नागरिकका सवालमा उदासीन देखिने प्रवृत्तिमाथि बहस चर्काउने देखिएको छ।






























