प्रामाणिक इतिहास लेखन विधिमाथि बौद्धिक बहस हुँदै
वि.सं.२०८३ भदौ २८ आइतवार
shares
नेपाली इतिहास लेखनको विकासक्रम, प्रामाणिक इतिहास लेखन विधि तथा नेपालको इतिहास लेखनको वर्तमान अवस्था केन्द्रित विशेष अनलाइनमा आधारित बौद्धिक बहस कार्यक्रम भाद्र २८ गते सांझ ७:५० बजे आयोजना हुने भएको छ।कौशिक गोत्रीय रेग्मी बन्धु समाजको आयोजनामा हुने उक्त बौद्धिक कार्यक्रममा नेपाली इतिहास लेखनका विविध आयाम, इतिहास लेखनका आधार, स्रोतको प्रामाणिकता, तथ्यको परीक्षण तथा इतिहास लेखनमा अपनाउनुपर्ने अनुसन्धान विधिका विषयमा गहन विमर्श गरिनेछ।
विषयगत प्रस्तुति इतिहासविद् कमलदेव रेग्मीले गर्नुहुनेछ भने त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रीय विभागका इतिहासविद् डा. विनोद थापाले विशेष मन्तव्य राख्नुहुने कार्यक्रम रहेको छ। कार्यक्रमको संयोजन प्रशासनविद् तथा समाजका महासचिव डा. दामोदर रेग्मीले गर्नुहुनेछ भने कार्यक्रमको अध्यक्षता कौशिक गोत्रीय रेग्मी बन्धु समाजका अध्यक्ष निल प्रसाद रेग्मीले गर्नुहुने कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएको छ ।
इतिहास केवल विगतका घटनाहरूको वर्णन मात्र नभई प्रमाण, स्रोत, तथ्य, विश्लेषण र वस्तुनिष्ठताको आधारमा विगतलाई वर्तमानसँग जोड्ने ज्ञानको महत्वपूर्ण विधा भएकाले प्रामाणिक इतिहास लेखनको विधि र अभ्यासबारे बहस आवश्यक रहेको आयोजकको भनाइ छ। कार्यक्रममा नेपाली इतिहास लेखनको प्रारम्भिक चरणदेखि वर्तमान अवस्थासम्मको विकासक्रम, इतिहास लेखनमा प्रयोग भएका स्रोत तथा पद्धति र यसको विश्वसनीयताका विषयमा समेत चर्चा गरिनेछ।त्यसैगरी नेपालको इतिहास लेखनमा महत्वपूर्ण योगदान पुर्याएका ख्यातिप्राप्त इतिहासविद्हरूको योगदान, उनीहरूले विकास गरेका अध्ययन तथा अनुसन्धानका पद्धति र नेपाली इतिहास लेखनमा उनीहरूले छोडेको बौद्धिक प्रभावका बारेमा समेत विमर्श हुने बताइएको छ। नेपाली इतिहासकार हरुको चर्चा गर्ने क्रममा रेग्मी इतिहासविदहरुको योगदानको वारेमा समेत चर्चा गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विशेषतः इतिहास अनुसन्धानकर्ता, विद्यार्थी, अध्यापक, अनुसन्धानमा संलग्न विद्वान् तथा नेपाली इतिहासप्रति रुचि राख्ने अध्ययनशील व्यक्तिहरूका लागि उपयोगी सामग्री र दृष्टिकोण प्रस्तुत हुने अपेक्षा गरिएको छ। विषय प्रस्तोता कमलदेव रेग्मी तथा विशेष मन्तव्य राख्नुहुने डा. विनोद थापा रेग्मीको त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको अध्यापन तथा अनुसन्धानमा रहेको लामो अनुभवले कार्यक्रमलाई थप गहन, रोचक र ज्ञानवर्धक बनाउने विश्वास आयोजकले लिएको छ।
इतिहासको विश्वसनीयता केवल लेखिएको विषयवस्तुमा नभई त्यसलाई प्रमाणित गर्ने स्रोत, अनुसन्धान विधि र इतिहासकारको वस्तुनिष्ठ दृष्टिकोणमा निर्भर हुने भएकाले नेपाली इतिहास लेखनको पद्धति र वर्तमान अवस्थामाथि हुन लागेको यो बहस समसामयिक र महत्वपूर्ण बौद्धिक कार्यक्रमका रूपमा हेरिएको छ।कार्यक्रमले नेपाली इतिहास लेखनलाई थप प्रमाणमा आधारित, अनुसन्धानमुखी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन आवश्यक पर्ने बहसलाई अघि बढाउने अपेक्षा गरिएको छ।प्रविधिको माध्यमबाट ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम गुगलमिट प्रविधिमार्फत सञ्चालन गरिने भएको हो। समाजले हालसम्म विभिन्न १० वटा श्रृंखला मार्फत यस्तै बौध्दिक विषयमा बहस चलाउदै आएको र यो ११ औं श्रृंखला भएको कुरा आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले https://meet.google.com/yuf-wsyx-xyr मा क्लिक गरि आस्क टु ज्वाइनमा क्लिक गरेर सहज रूपमा जोडिन सक्ने कुरा आयोजकले जनाएको छ।



























