तीज: मेरो विचार

177
shares

 

 

 

देशमा घटेको प्रकृतिक विपद्लाई मध्येनजर  गर्दा, अहिलेको तीज खासै उल्लासजनक रहेन । चिनको तिब्बतबाट आएको (सुनामी ) प्रलयका कारण देश शोकमा डुबेको छ । भोटेकोशीमा आएको विध्वंसात्मक प्रलयकारी बाढीले रसुवा, नुवाकोट,धादिङ, गोर्खा ,चितवन, नारायणी लगायतका ठाउँमा बाढी एवम् छालले यत्रतत्र सर्वत्र ठुलो सङ्ख्यामा मानवीय एवम् भौतिक क्षति पुर्यायो । जुन हाम्रो आँखाले प्रत्यक्ष देख्यो, हामी स्वयम् प्रत्यक्षदर्शी पनि बन्यौँ ।

 

हरितालिका तीज आफैंमा हिन्दु नारीहरूको महान् पर्व हो । नारीहरू घरदेखि माइतीसम्मको आत्मियता, अपनत्वको भावना बोकेर परिवारजनसङ्ग एकाकार हुँने हाम्रो मौलिक परम्परा हो । लोकभाका,लोक संस्कृति , मौलिक सृजना, आँफुले देखेको, सुनेको र भोगेको दु:ख, सङ्घर्ष, कठोर बुहार्तनका विषयलाई जस्ताको तस्तै शब्दमा उतारेर वेदना,विरह एवम् मनका भावना पोखिने यो हाम्रो नितान्त मौलिक संस्कृति पनि हो ।

 

तर २०८३ साल भाद्र १० गते देशमा आएको यो प्रकृतिक विपद अकल्पनीय एवम् भयावह रह्यो ।समयलाई कतिपय ठाउँमा खुसी स्वीकार्य नहुँदो रहेछ । चाडपर्वको नजिकै आएको यो विपदले कतिका घरमा रोदन ल्यायो, त कतिका घरमा खुसी !

त्यो आफ्नै ठाउँमा छ । जुन सम्झदा मात्र पनि मनलाई पीडादायी एवम्  व्यथित बनाउँछ ।

 

हरितालिका तीज, सनातन संस्कृतिमा यसको ठूलो महत्त्व रहेको छ l यो तीज पर्व, भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती,विवाहित महिलाहरूद्वारा  मनाइन्छ,तर यो व्रत अविवाहित महिला,पुरुषहरूको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता पार्वती एवम् गणेशजीको पूजा-आराधना गरिन्छ l यो व्रत निराहार एवं निर्जला,रात्रि जाग्राम गरी नाचगानको साथ खुसियाली एकआपसमा साट्दै हर्षोल्लासका साथ मनाइन्छ ।

 

आलिभिः सखिभिः हरिता इति हरितालिका । अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका ।

 

‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसङ्गअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउँन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो, भन्ने धार्मिक विश्वास रहेको छ ।

 

माता पार्वतीले महादेव वर पाऊँ भनि कठोर तप गर्नु भएको थियो । फलस्वरूप महादेव स्वयम् प्रकट भई पार्वतीको इच्छा बुझ्नु भएको थियो । महादेव प्रसन्न भई उक्त इच्छा पूरा भएको थियो भन्ने धार्मिक विश्वास रहेको छ ।

 

हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको समापन गरेर भोजन गर्ने गरिन्छ । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने प्रचलन रहेको छ ।

 

नेपाली समाजमा यस पर्वको परम्परागत इतिहास हेर्दा रोचक रहेको छ । परम्परागत मौलिकता, लोक संस्कृति , बोकेको जीवन्त पर्वका रूपमा हेरिन्छ। प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ ।  भेला हुने,  रमाइलो भेटघाटबीच मीठो एवम् स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुराउँने गर्दछ । आपसी मेलमिलापको भावना पनि जागृत गराउँछ ।

 

यस पर्वले परिवार बीच एकता, पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, शिवपर्वती पूजा गर्ने, पतिपत्नी एकअर्काका पूरक भएको प्रमाणित गर्ने,  ईश्वरको भक्तिपूर्ण उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता प्रसङ्ग तीज पर्वसङ्ग जोडिन्छ । पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिएको पाइन्छ ।

 

तर समसामयिक परिवेशमा तीजलाई केवल तडकभडक, फेसन, वर्गीय भेद, हुँनेखाने र हुँदाखाने बीचको बेमेल स्पष्ट झल्किएको पाइन्छ । तर  त्यो आफैंमा गलत प्रवृत्ति एवम् संस्कृति हो , यो भित्रिनु हामी आफैंमा दुर्भाग्य पनि हो । यस्ता क्रियाकलापले चाडपर्वको महत्त्व एवम् महिना कम हुँनु हो । हामी सबैले मनन गर्नुपर्छ, यस्ता नकारात्मक, मिथ्या प्रवृत्तिका पछि लागेर चाडपर्वलाई सङ्कुचित बनाउँनु हुदैन ।

 

 

तसर्थ , यस्मा हामी सबै सचेत एवम् जिम्मेवार रहनुपर्छ । कुनै पनि कुराको महत्त्व सादगीमा हुन्छ, जब बाह्य हस्तक्षेप हुँन थाल्छ तब स्वतः यसको महत्त्व कम हुन्छ ।

 

अन्त्यमा, सम्पूर्ण देश विदेशमा रहनु हुँने महिला दिदीबहिनीहरू, आमाबुवा तथा दाजुभाइहरू, सम्पूर्ण नारीहरूमा २०८३ सालको तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals