मोटरसाइकल हरायो भन्दै आफैँसँग राख्ने थपलिया रेडक्रसको सल्लाहकार, एमाले,समाजवादी र रास्वपा बनेर रेडक्रसमा लुट्दै

1.9K
shares

 

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा विगतमा विवादमा परेका नन्दराज थपलियालाई तीन वर्षपछि पुनः सल्लाहकारको जिम्मेवारी दिइएपछि रेडक्रसमा अर्को अनियमितता फेला परेको छ ।

उनको नियुक्ति र विगतका गतिविधिमाथि प्रश्न उठेको छ । थपलियाविरुद्ध विगतमा आर्थिक अनियमितता, संस्थाका सामानको हिसाब नबुझाएको, फिल्डमा प्रयोग गर्न दिइएका सामग्री अन्यत्र प्रयोग गरेको तथा नक्कली बिल पेश गरेको लगायतका आरोपमा छानबिन भएको थियो ।

थपलिया यसअघि फिनिस रेडक्रससँग आबद्ध परियोजनामा काम गर्दा विवादमा परेका थिए । फिनिस रेडक्रसको परियोजनाअन्तर्गत पाँचथरका लागि प्रयोग गर्नुपर्ने मोटरसाइकल र अन्य सामग्रीको व्यवस्थापनमा समेत प्रश्न उठेको थियो । रुकुम, रोल्पा र सल्यानलगायतका जिल्लामा प्रयोग गर्नुपर्ने सामग्री सम्बन्धित कर्मचारी तथा परियोजनालाई नदिई व्यक्तिगत रूपमा प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

अझ गम्भीर बिषय मोटरसाइकलसँग जोडिएको छ । थपलियाले करिब तीन वर्षअघि उक्त मोटरसाइकल हराएको भन्दै नेपाल रेडक्रस सोसाइटी र प्रहरीमा निवेदन दिएका थिए । तर तीन वर्षपछि पुनः रेडक्रसमा सल्लाहकारका रूपमा नियुक्ति पाएसँगै उनी त्यही मोटरसाइकल चढेर कार्यालय आएका छन् ।कार्यालयमा कर्मचारीहरूले ‘हराएको भनिएको मोटरसाइकल कसरी पुनः प्रयोगमा आयो ?’ भनेर प्रश्न गरेपछि थपलिया असहज बनेको स्रोत बताउँछ । यस घटनाले मोटरसाइकल हराएको सम्बन्धमा पहिले गरिएको उजुरी र त्यसको वास्तविक अवस्थामाथि समेत प्रश्न उठाएको छ ।

फिनिस रेडक्रससँग काम गर्ने क्रममा थपलियाको जिम्मामा रहेका ल्यापटप, मोटरसाइकललगायतका सामग्रीको विवरण र फिर्ता प्रक्रियासमेत विवादमा परेको थियो । फिनिस रेडक्रसले पटक–पटक कार्यालयका सामग्री फिर्ता गर्न पत्राचार गरेको भए पनि करिब १६ लाख रुपैयाँ बराबरका सामग्रीको पूर्ण हिसाब–किताब नबुझाएको आरोप छ ।

परियोजनाका लागि रोल्पा, रुकुम र सल्यानलगायतका जिल्लामा पठाउनुपर्ने ल्यापटप तथा अन्य उपकरण सम्बन्धित कर्मचारीलाई नदिई आफू निकटका व्यक्तिलाई दिएको विषयमा समेत त्यसबेला प्रश्न उठेको थियो ।त्यस्तै, फिनिस रेडक्रसको परियोजनाअन्तर्गत फिल्डमा खटिँदा होटल खर्चमा समेत अनियमितता भएको आरोप थियो । रोल्पामा एक रातको होटल खर्चबापत रु. २ हजार ४ सयको बिल पेश गरिएको थियो । तर फिनिस रेडक्रसका प्रतिनिधिले सोही स्थानमा बस्दा रु. ६ सयमै आवास पाएको भेटिएपछि उक्त खर्चमाथि प्रश्न उठेको थियो ।

फिनिस रेडक्रसबाट परियोजनाका लागि प्राप्त रकम तथा सामग्रीको प्रयोग, पेस्की र बिलसम्बन्धी विषयमा थपलियामाथि छानबिन भएको थियो । सहकर्मीको नाममा पेस्की निकालेर फिल्डमा खर्च गरेको तथा त्यसको व्यवस्थापनमा विवाद उत्पन्न भएको विषयसमेत उनीविरुद्ध आरोप छ ।

थपलियाले कार्यरत रहँदा विभिन्न सामग्री, ज्याकेट तथा मोटरसाइकलको मर्मतसम्भारमा समेत केन्द्रलाई जानकारी नदिई जिल्लास्तरबाट खर्च व्यवस्थापन गरेका थिए । नक्कली बिल पेश गरेको विषयमा समेत छानबिन भएको र छानबिनपछि अनियमितता पुष्टि भएको थियो ।

फिनिस रेडक्रससँगको सम्बन्धका क्रममा थपलियाले संस्थाको केन्द्रीय कार्यालयमा समेत विभिन्न गुनासो तथा आरोपसहित इमेल पठाएका थिए । त्यसपछि भएको आन्तरिक प्रक्रियामा उनको कार्यसम्पादन र संस्थाका सामग्री व्यवस्थापनसम्बन्धी विषयमा प्रश्न उठेको थियो । परियोजना सकिएपछि उनको जिम्मेवारी समाप्त भएको थियो । जनकपुरस्थित आँखा अस्पतालमा सातौं तहको नियुक्ति लिएर जाने प्रयासका क्रममा समेत राजनीतिक पहुँच प्रयोग गरेका थिए । उनी अहिले पनि जनकपुर आँखा अस्पतालमा जान विभिन्न व्यक्तिमार्फत पहल गरिरहेको एक रेडक्रस कर्मचारीले बताए ।

थपलियाको राजनीतिक आबद्धतामाथि समेत रेडक्रसमा प्रश्न उठेको छ । उनी विगतमा नेकपा एमाले हुँदै नेकपा (एकीकृत समाजवादी) र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट छन् । रास्वपाको महाधिवेशनमा चितवन पुगेर उनले सार्वजनिक रूपमा सहभागिता जनाएको विवरणसमेत सामाजिक सञ्जालमा रहेको छ ।

नेपाल रेडक्रसजस्तो मानवीय तथा गैरराजनीतिक संस्थामा राजनीतिक निकटताका आधारमा जिम्मेवारी वितरण हुन थालेको भन्दै कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी संस्थाको तदर्थ नेतृत्वले विगतमा विवादमा परेका व्यक्तिलाई पुनः जिम्मेवारी दिनुले संस्थाको सुशासन र दातृ निकायसँगको सम्बन्धमाथि समेत प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीका तदर्थ समितिका अध्यक्ष विशाल भण्डारीले थपलियासहित दीपक घिमिरे र सुदर्शन अधिकारीलगायतका व्यक्तिलाई प्राथमिकता दिँदै आएको भन्दै संस्थाभित्र असन्तुष्टि बढेको छ ।

रेडक्रसको नेतृत्वमाथि पछिल्लो समय दातृ निकायसँगको सम्बन्ध, राहत सामग्री व्यवस्थापन तथा संस्थागत सुशासनका विषयमा प्रश्न उठ्दै आएका छन्। विपद्का बेला दातृ निकायबाट प्राप्त सामग्रीसमेत सम्बन्धित ठाउँमा पु¥याउन नसकिएको घटनाले संस्थाको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ ।

थपलियामाथि लागेका आरोप र करिब १६ लाख रुपैयाँ बराबरका सामग्रीको हिसाब–किताबसम्बन्धी दाबीको वास्तविकता सम्बन्धित कागजात, फिनिस रेडक्रससँगको पत्राचार, प्रहरीमा परेको निवेदन तथा रेडक्रसको आन्तरिक छानबिनबाट स्पष्ट हुन्छ । त्यसैले तीन वर्षअघि ‘हराएको’ भनिएको मोटरसाइकल तीन वर्षपछि पुनः उनकै प्रयोगमा देखिनु तथा सोही व्यक्तिलाई रेडक्रसले पुनः सल्लाहकारको जिम्मेवारी दिनुले संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

बाढीपिडितको नाममा आएको राहत रेडक्रसद्वारा नै दुरुपयोग

civil hospital
Hams Hospitals