सिंहदरबारबाट पक्राउ परेका किस्पाङका अध्यक्षको १० वटा मुद्दा सार्वजनिक

354
shares

 

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको प्रहरी विवरणबाट खुलेको छ। फरार प्रतिवादीको खोजतलासका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि तामाङविरुद्ध रहेका मुद्दाको विवरण सार्वजनिक भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार तामाङविरुद्ध काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा ९ वटा बैंकिङ कसुर र एउटा ठगीसम्बन्धी मुद्दा दर्ता छन्।

काठमाडौं प्रहरी परिसरमा मात्रै तामाङविरुद्ध बैंकिङ कसुरका चारवटा मुद्दा रहेको देखिन्छ। ती मुद्दामा क्रमशः ३ करोड ४ लाख, १ करोड ३ लाख ३० हजार, ४८ लाख र १५ लाख रुपैयाँ बिगो कायम गरिएको प्रहरी विवरणमा उल्लेख छ।

त्यस्तै, ठगीसम्बन्धी मुद्दामा २ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ र लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बिगोका बैंकिङ कसुरसम्बन्धी मुद्दा छन्। महाराजगञ्ज प्रहरी वृत्तमा समेत उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेखित बिगो मात्रै जोड्दा करिब ७ करोड ६९ लाख ८५ हजार रुपैयाँ पुग्छ। यसले जनप्रतिनिधिको जिम्मेवारीमा रहेका तामाङमाथि लागेको आर्थिक कसुरसम्बन्धी आरोपलाई गम्भीर बनाएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलासका क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रोचक संयोग के छ भने, तामाङ सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकेर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जनप्रतिनिधिका रूपमा सार्वजनिक जिम्मेवारी सम्हालिरहेका व्यक्तिविरुद्ध एकैपटक यति ठूलो रकम बिगो भएका बैंकिङ कसुर तथा ठगीका मुद्दा रहेको विवरण सार्वजनिक भएपछि जनप्रतिनिधिको आचरण, जवाफदेहिता र सार्वजनिक पदको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

यद्यपि, मुद्दा विचाराधीन रहेकाले तामाङमाथिका आरोपको अन्तिम कानुनी निरूपण भने अदालतबाट हुन बाँकी छ।

civil hospital
Hams Hospitals